नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरुलाई सेवा सुविधा थप्ने भनेर सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको बताएका छन्।
आतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको सिमित स्रोत साधनबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताए। उनले देशले धान्नसक्ने गरी मात्रै सेवा सुविधा दिनुपर्ने बताए। उनले मिडियाले गलत समाचार संप्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए। उनले देशको अर्थतन्त्रलाई हेर्दा बरु सेवा सुविधा घट््ने तर कुनै हालतमा नबढ्ने दाबी गरे। पूर्वविशिष्टहरुलाई दिने सेवा सुविधाका बारेमा कानुनको आवश्यकता महशुस गरेर सरकारले यस विषयमा मस्यौदा ल्याउने कुरा गरेको उनको भनाइ छ ।
उनले भने, ‘यसमा सत्यता छैन, बढ्ने भन्ने कुरो हुँनै सक्दैन । घट्छ, बढ्दैन । घट्न सक्ला तर बड्दैन । तर यसको विषयमा कानुन चाहिन्छ भनेर कानुनको ड्राफ्टको कुरा चाहीँ सरकारले ग¥या होला । तर बाहिर सार्वजनिक रुपमा मिडियामा बढाउन खोज्यो भनेर आयो त्यसमा कुनै सत्यता छैन । यो भ्रमपूर्ण कुरा हो । बढाउने कुरो छैन भोलि कानुन आयो भने घट्ला बढ्न चाहिँ बढ्दैन । हामी घटाउने कुरा गछौँ, बढाउने कुरा गर्दै गर्दैनौँ, निश्चिन्त भए हुन्छ । हाम्रो देशको स्रोत, साधन र क्षमतामा मध्यनजर राखेर सेवा सुविधाको कुरा गर्नुपर्छ । अहिले सीमित स्रोतबाट अरु धेरै महत्वपूर्ण काम गर्नुपर्छ ।’
सांसद महतले विगतमा नेपाली काँग्रेसले जनप्रतिनिधिले शासनसत्ता चलाउने गरी एकताको प्रतिकका रुपमा राजा स्वीकार गरेको बताए। राजाले नै जनताको अधिकार खोसेर हातमा लिएपछि गणतन्त्रको बाटो रोजेको उनको भनाइ छ ।
प्रकाशित: ३ चैत्र २०८१ १८:०० आइतबार