४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:२ पूर्वाह्न
राजनीति

महेन्द्र मोरङमा स्ववियु निर्वाचन स्थगित गर्न नेविसंघको माग

विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन रोक्न सभापतिका उम्मेदवार योगराज दाहालले माग गरेका छन् । उम्मेदवारीको आधिकारिकताका विषयमा देखिएको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अघि नबढाउन उनले माग गरेका हुन् ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी दाहालले नेविसंघमा देखिएको आधिकारिकताको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अघि बढाए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयले लिनुपर्ने चेतावनी दिएका छन् । ‘विवाद समाधान गरी निर्वाचन गर्न दिँदैनौँ’ उनले भने ‘जवर्जस्ती निर्वाचन गर्न खोजिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने छ ।’

दाहालले पत्रकार सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्याल र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइरालासँगको मिलेमतोमा स्ववियु निर्वाचन अधिकृत शुशिल अधिकारीले आफूहरूले नेविसंघको आधिकारिकताको चिठ्ठी दिँदादिँदै पनि स्वतन्त्र उम्मेदवारको सूचीमा आफ्नो प्यानलको नाम सार्वजनिक गरेको आरोप लगाए । महेन्द्र मोरङ क्याम्पसमा नेवि संघका दुई वटा प्यानलले उम्मेदवारी दिएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले प्रज्वल विष्ट नेतृत्वको प्यानललाई आधिकारिकता दिएको थियो । योगराज दाहालको प्यानललाई स्वतन्त्र उम्मेदवारका रुपमा राखिएको थियो ।

दाहालले नेविसंघको मोरङ सभापति सरोज पोखरेललगायतलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही नगरेको भन्दै  प्रहरी प्रशासनले अन्याय गरेको गुनासो गरे  । यसैबिच नेविसंघ मोरङका सचिव गुड्डु साहले पनि आइतबार विज्ञप्ति जारी गरी महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको योगराज दाहाल प्यानललाई स्वतन्त्र उम्मेदवार बनाउने कार्य सच्याउन माग गरेको छ । स्ववियु निर्वाचनको मिति  चैत ५ गतेलाई तोकिएको छ । मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । यसै गरी समानुपातिकतर्फ ९ विद्यार्थी सङ्गठनको बन्द सूची पेस गरेका छन् । क्याम्पसमा प्रत्यक्षतर्फ ७२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । मोरङ क्याम्पसमा २ दुई हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र मतदाता रहेका छन्  । 

प्रकाशित: ३ चैत्र २०८१ १७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App