मधेश केन्द्रित ८ दलको मधेशी मोर्चाले संविधान संशोधनसहितका मुद्दामा साझा धारणा तय गर्दै प्रतिकुल हुनेगरीका व्यवस्था परिवर्तनविरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।
साझा धारणा तय गर्दै मोर्चाले संविधान संशोधनको नाममा प्राप्त उपलब्धि गुम्नेगरी संशोधन मान्य नहुने बताएको हो । साझा एजेन्डा बनाउन गठित कार्यदलले मधेसी आदिवासी जनजाति, दलित, पिछडिएको समुदायको हकअधिकार र पहिचान सुनिश्चित गर्ने गरी संविधान संशोधन हुनुपर्ने माग अघि सारेको छ ।
जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा.शिवजी यादव, जसपा नेपालका प्रवक्ता मनिष सुमन र राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेपालका नेता केशव झा रहेको तीन सदस्यीय कार्यदलले तयार गरेको एजेण्डा यहीँ साताभित्र मोर्चा आवद्ध दलका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । आवश्यक अध्ययनपछि शीर्ष नेताको सुझावका आधारमा एजेण्डालाई अन्तिमरुप दिने जसपा नेपालका प्रवक्ता सुमनले जानकारी दिए ।
संविधान संशोधन गर्दै थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउनेलगायत नेपाली कांग्रेस र नेकपा (एमाले) को तयारीविरुद्ध साझा संघर्ष गर्ने उनको भनाइ छ । पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने, प्रदेश जनसंख्याका आधारमा राष्ट्रियसभा गठन गर्नुपर्नेलगायत एजेन्डा मोर्चाले तयार गरेको छ ।
मोर्चामा जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, तराई लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी आवद्ध छन् ।
प्रकाशित: ३ चैत्र २०८१ १७:२८ आइतबार