नेपाल सरकारले आगामी ‘सगरमाथा संवाद’ मा विश्वभरका ३५० विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादबारे जानकारी दिँदै १५० देखि १७५ राष्ट्र प्रमुखको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिए।
आगामी वर्ष २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवादका लागि विदेशस्थित नेपाली राजदूतावासहरू तथा नेपालमा रहेका विभिन्न देशका दूतावासहरू मार्फत निमन्त्रणा पठाइएको जानकारी गराइयो।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमाल र जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिने उद्देश्यसहित सगरमाथा संवाद अघि बढाइएको बताए।
उनका अनुसार वातावरण विनाशका कारण नेपालले व्यहोरेका क्षतिको अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै ‘लस एण्ड ड्यामेज’ (हानि तथा क्षति) सम्बन्धी अधिकारको मागलाई प्राथमिकता दिइनेछ।
सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका लागि गर्नुपर्ने तात्कालिक कार्यहरू, उच्च पहाडी क्षेत्र र टापुहरूबीचको सम्बन्ध, खाद्य सुरक्षा तथा कृषि पुनरोत्थानका विषयमा छलफल हुनेछ।
दोस्रो दिन जलवायुजन्य प्रकोप न्यूनीकरण, पुनरोत्थान, तथा हिमाल संरक्षणका प्रयासबारे समीक्षा गरिनेछ। तेस्रो दिन भने सहभागीलाइ विशेष हवाइ उडानमार्फत सगरमाथा क्षेत्र अवलोकन गराइनेछ।
सरकारले सगरमाथा संवादलाई उच्च प्राथमिकता दिँदै यसलाई समयमै सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाएको छ।
प्रकाशित: ३ चैत्र २०८१ १७:०३ आइतबार