जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउने बताएका छन्।
बुधबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले लोकतन्त्र उदार रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गणतन्त्रको विरोधमा बोल्न पाउने अधिकार पनि गणतन्त्रले दिएको जिकिर गरे।
उनले राजाको शासनकालमा आन्दोलन गर्नु वा राजाको विरोध गर्नु ठूलो अपराध मानिन्थ्यो भने अहिले त्यस्तो अवस्था नरहेको बताए।
उहाँले भने, ‘हामी अहिले लोकतन्त्रमा छौं, हाम्रो लोकतन्त्र यति उदार छ। पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको विरोधमा बोलिरहेको छ। त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो। राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौं हामी। त्यो बेलामा राजाको विरोध गर्नु ठूलो अपराध हुन्थ्यो। अहिले गणतन्त्रको विरोध गर्नु अपराध हुँदैन। जनताको बीचमा जानुस्।’
अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताए। उनले लोकतन्त्रको मूल्य र अधिकारको महत्वलाई जोड दिए।
प्रकाशित: २८ फाल्गुन २०८१ २१:२१ बुधबार





