२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:१५ पूर्वाह्न
राजनीति

राजावादी आन्दोलनका कारण रोकिएको हो माओवादी अभियान ?

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को ‘तराई-मधेश जागरण अभियान’ गत २५ गते एकाएक रोकियो।

बताइएअनुसार माओवादी अभियान स्थगित हुनुपूर्व त्यसका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको थियो। संवाद राजावादी आन्दोलनका प्रति केन्द्रित थियो।

त्यसो त माओवादी नेताहरू अभियान रोकिनुमा राजावादी आन्दोलन पनि एक प्रमुख 'फ्याक्टर्स' भएको बताउँछन्। एक नेताले नागरिकसँग भने, 'अभियान रोकिनुको एउटा प्रमुख कारण राजावादी आन्दोलन पनि हो। अरु कारण पनि होलान् तर, हामीले यो आन्दोलनलाई पनि मुख्य रूपमा हेरेका छौँ। अबको सिनारियो पनि हेर्छौँ। अवस्था हेरेर सडकमै उत्रिन पनि सक्छौँ।'

माओवादी उपमहासचिव हरिबोल गजुरेलका अनुसार अभियान थप सशक्त ढङ्गले पुन: सञ्चालन हुनेछ। 'अहिलेका लागि स्थित भएको मात्रै हो,' उनले भने, 'अब थप सशक्त ढङ्गले सञ्चालन गर्छौँ। थप तयारी गरेर, सुधार गरेर अनि थप राम्रो हुनेगरी अभियान आउनेछ।'

अभियान रोकिनुका अरु पनि कारण भएको माओवादी सचिव दीनानाथ शर्मा बताउँछन्। शर्माका अनुसार स्ववियु निर्वाचन, सरकारप्रतिका सत्तारूढहरूकै असन्तुष्टिलगायतका विषयका कारण पनि अभियान रोक्नुपरेको हो।

'भएका हाम्रा अभियान, राष्ट्रिय राजनीतिलगायतका विषयमा एउटा बुझाइमा पुग्छौँ, त्यसपछि थप कार्यक्रमहरू तय हुन्छन्,' शर्माले भनेका छन्, 'राजावादी आन्दोलनकै कारणले मात्रै अभियान स्थित भएको होइन।'

पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ वक्तव्यमा देश बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए। त्यसबाट राजावादी दल राप्रपा, राप्रपा नेपालसहित अन्य राजासमर्थित समूहहरू आन्दोलित बनेका छन्।

गत २५ गते झन्डै एक महिना पोखरा बसेर फर्किएका उनै पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं धुमधामका साथ हजारौंले स्वागत र अभिनन्दन गरेका छन्। त्यसबाट दलहरू हच्किएका छन्। राजावादी आन्दोलनलाई उनीहरूले मिहीन ढङ्गले हेरिरहेका छन्।

अभियानका क्रममा माओवादी नेताहरू।

झापाबाट सुरु भएको माओवादी अभियान रौतहटसम्म पुगेको छ। अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर पुग्न बाँकी छ। नेताहरूका अनुसार त्यो क्षेत्रमा पनि चाँडै अभियान सञ्चालन हुनेछ।

अभियानमा अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, महासचिव र उपमहासचिवहरू सहभागी भइसकेका छन्। माओवादीले सचिव र त्यसभन्दा तलका पदाधिकारीलाई भने भूगोलकेन्द्रित गरेको छ। उपमहासचिवभन्दा माथिका पदाधिकारीहरू भने अभियानमा सहभागी भएका हुन्।

सरकार छाडेपछिको पछिल्लो स्थानीय तहबाट प्राप्त नतिजाबाट हौसिएको माओवादीले अभियानमार्फत आफ्नै वर्गतिर फर्किने बताएको छ। तर, राजनीतिक विश्लेषकहरूले भने माओवादीको यस्तो कथनका प्रति 'क्रिटिसिज्म' गर्छन्।

‘माओवादी आफ्नै वर्गमा फर्किन्छ भन्नु दिवा स्वप्न हो। जसरी नेताहरूले सजिलै भन्नुभएको छ, त्यो देखिँदैन,’ विश्लेषक चन्द्र किशोर भन्छन्, ‘यो अमूर्त कुरा हो। एक अमूर्त व्यक्तिले पार्टी राखिरहेसम्म पार्टी सुदृढ हुन्न।’

यो पनि पढ्नुहोस्

माओवादीको हुलाकी-दौडाहा: ‘आफ्नै वर्ग’तर्फ फर्केकै हो?

 

प्रकाशित: २७ फाल्गुन २०८१ २१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App