राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा जनताको बलियो समर्थन रहेको दाबी गरेका छन्। उनको अध्यक्षतामा सोमबार (आज) बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भीड देखेर यस्तो निष्कर्ष निकालेको हो।
फागुन २५ को काठमाडौंको जनप्रदर्शनलाई ऐतिहासिक ठहर गर्दै बैठकले यो जनआवाजलाई सम्बोधन गर्न राजनीतिक दलहरूलाई आग्रह पनि गरेको छ। जनभावना दबाउने प्रयास भए परिस्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पनि दिइएको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको चाहना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ। यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ।’
राप्रपाले हिन्दुराष्ट्र, राजसंस्था पुनःस्थापना, संघीयता खारेजी र भ्रष्टाचार अन्त्यको मागलाई जनताको चाहनाका रूपमा प्रस्तुत गरेको छ। सबै राष्ट्रवादी शक्तिलाई एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न र जनआन्दोलन घोषणा गर्न अपिल पनि बैठकले गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८१ १७:०० सोमबार