राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाए।
उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए।
उनले भने, “विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतिपूर्ण संघर्ष गरेर अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ। त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने भन्दैछन्। जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन्।”
शर्माले संविधान बिरोधी र व्यवस्था बिरोधी हर्कत गरिरहेका प्रतिगामी शक्तिहरूको कार्यलाई अराजकता बताउँदै सरकारले यसलाई नियन्त्रण गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे।
उनले भने, “संविधान बिरोधी, व्यवस्था बिरोधी हर्कत उनीहरुले गरिरहेका छन्। यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन ? प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेका छैन ? देश बजेट ल्याउने अवस्थामा आइपुगेको छ। ५० प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन। जसले वंश विनाश गरे, उनैले राजा फर्काउने नाटक मञ्चन गरिरहेका छन्।”
उनले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि त्यस्तो हुन नसकेकोमा गम्भीर चासो व्यक्त गरे। उनले सरकारलाई प्रतिपक्षको आवाज सुन्न र देशको आर्थिक अवस्थालाई सुधार गर्न आग्रह गरे।
प्रकाशित: २५ फाल्गुन २०८१ १४:५१ आइतबार





