टीकापुर नगरपालिकाका प्रमुखको कार्यकक्षमा केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले शुक्रवार लगाएको ताला यथावत छ। कार्यवाहक नगरप्रमुख लालविर चौधरीले समन्वयको प्रयास भैरहेको बताएका छन्।
नगरप्रमुख रामलाल डगौरा थारू लाओसमा आयोजना हुने पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागिताका लागि शुक्रवार नै काठमाडौं हिँडेको मेयरको सचिवालय प्रमुख एलबी बुढाले जानकारी दिए।
तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषि विकका साथै चारजना कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु बिक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन्।
उनीहरूले नगरप्रमुख थारू, प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उनीहरूले ४७ औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन्।
उनीहरूले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरूलाई गुमराहमा राखेको बताए। वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगरप्रमुख थारू निरङ्कुश बनेको आरोप लगाएका छन्। उनीहरूले लोकतान्त्रिक अधिकारको हनन गरेर मेयर थारूले निरङ्कुश व्यवहार देखाएको बताए।
‘हिजो लोकतन्त्र प्राप्तीका लागि लड्यौँ आज आफ्नै लोकतान्त्रिक अधिकार हनन भयो’ वडा नम्बर १ का वडाध्यक्ष विकले भने, ‘मेयरको निरङ्कुश प्रवृत्ति विरुद्ध हाम्रो आपत्ति हो।’ उनले मेयर थारूले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताए।
त्यस्तै अनुगमन समितिको संयोजकबाट हटाइएका कार्यपालिका सदस्य निसानीले आफूलाई हटाउने कुरामा विमति समेत राख्न नपाएको बताए। उनले निराधार आरोप लगाएर गलत प्रकृयाबाट आफूलाई जिम्मेवारीबाट हटाएको बताए। ‘नगरप्रमुखले तोक्ने व्यवस्था छ तर हटाउने व्यवस्था स्पष्ट छैन’ उनले भने( ‘गलत काम गर्दैन भन्दा हटाइयो।’
मेयर थारूले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन्। अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भएपनि उपमेयर खडकबहादुर शाह निलम्बनमा परेका छन्।
केही दिन अघि पत्रकार सम्मेलन गर्दै मेयर थारूले आफूमाथि घेराबन्दी भैरहेको बताएका छन्। उनले टीकापुरको विकास नचाहने तत्त्वले घेराबन्दी गरेको आरोप लगाए।
उनले यस्तो विकास विरोधी पक्ष विगतदेखि नै सक्रिय रहेको बताए। ‘टीकापुरको विकासको वाधक नै यही तत्व हो। यही कारण टीकापुरपछि परेको हो’ उनले भने, ‘सबै हैन केही सीमित व्यक्तिहरू यसमा संलग्न छन्।’ उनले आफू अनुकुललाई राखेर राजनीतिक दलले गोप्य मिटिङ मार्फत पूर्वाग्रह साँधेको बताए।
उनले गुटबन्दी सिर्जना गरेर जात, भेग, लिङ्गका आधारमा विभाजन गर्न खोजेको आरोप लगाए। ‘चाहे जोसुकै पार्टीबाट आए पनि विकासका काम गर्न आएको हो’ उनले प्रश्न गरे, ‘यस्तो गुटबन्दीले कसरी विकास हुन्छ ?’ उनले अनुगमन समितिको संयोजक निसानीले असहयोग गरेका कारण वाध्य भएर अर्को संयोजक बनाउनु परेको बताए।
राजनीतिक दलहरूले फागुन १९ गते वडाध्यक्ष र कार्यपालिका सदस्यलाई राखेर नगरप्रमुख कार्यशैलीको विरोध गर्दै सच्याउन ध्यानाकर्षण गराएका थिए। दलहरूले वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई राखेर बैठक गरेपछि मेयर थारूले पत्रकार सम्मेलन गर्दै चुनौती दिएका हुन।
प्रकाशित: २५ फाल्गुन २०८१ १४:३६ आइतबार





