नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरूमा आगामी चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) निर्वाचनको तयारी थालेको छ। भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) गुटबन्दीले थलिएका बेला माउ पार्टीलाई भने स्ववियु निर्वाचनले छोएको छ।
पार्टीले स्ववियु निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई देशभरको चुनावी कमान्डर तोकेको छ। नेविसंघको आन्तरिक विवाद समाधान, पार्टीका मातहतका निकाय परिचालन र समन्वयसहितको जिम्मेवारी दिइएको छ।
यस्तै प्रदेश स्तरमा पनि नेविसंघलाई जिताउन प्रभावशाली नेताहरूलाई प्रदेश कमान्डर तोकेको छ। जसअनुसार कोसीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मधेसमा सहमहामन्त्री महेन्द्र यादव, बागमतीमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकीमा सहमहामन्त्री जीवन परियारलाई कमान्डर तोकिएको छ।
यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, कर्णालीमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिममा केन्द्रीय सदस्य एनपी साउदलाई कमान्डर तोकिएको छ।
यस पटकको स्ववियु निर्वाचनलाई कांग्रेसले विशेष महत्त्व दिएको छ। शुक्रवार मात्रै बसेको पदाधिकारी बैठकको एक मुख्य एजेन्डा स्ववियु निर्वाचन पनि थियो।
यसैबीचमा महामन्त्री शर्माले स्ववियु निर्वाचनलाई ध्यान दिएर आवश्यक समन्वय र सहजीकरण काम गर्न पार्टीका प्रदेश समिति र जिल्ला समितिहरूलाई सर्कुलर गरेका छन्। नेविसंघलाई जिताउने उद्देश्यका साथ महामन्त्री शर्माले ११ बुँदे सर्कुलर पठाएको कांग्रेसस्रोतले बतायो।
सर्कुलरमा नेविसंघलाई जिताउन पार्टी गर्नुपर्ने भूमिका, भ्रातृ संस्थाहरू परिचालन, आवश्यक पर्न सक्ने ठाउँमा गठबन्धनको छलफललगायतका विषय समेटिएको स्रोतले बतायो।
‘यो निर्वाचन मूलतः विद्यार्थी सङ्गठनकै हो। मुख्य तयारी नेविसंघबाटै भइरहेको छ,’ कांग्रेसस्रोतले भन्यो,‘तर, पार्टीको एक सक्रिय अंग नै प्रतिस्पर्धा गर्ने निर्वाचन भएकाले पार्टीबाट आवश्यक समन्वय गर्ने कामका लागि महामन्त्रीज्यूको संयोजनमा काम भइरहेको छ।’
त्रिविका आङ्गिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ। यसअघि २०७९ चैतमा स्ववियु निर्वाचन भएको थियो। स्ववियु निर्वाचित समितिको कार्यकाल २ वर्षको हुने गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१ १५:०८ आइतबार