२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:४६ पूर्वाह्न
राजनीति

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन्, यिनीहरूलाई टुँडिखेलमा ल्याएर कारबाही गर्नुपर्छ : बिजुक्छेँ

'हाम्रो पार्टीमात्रै सच्चा कम्युनिष्ट पार्टी'

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँं (रोहित) ले देश र जनताको सेवाबाहेक आफ्नो र आफ्नो पार्टीको अर्काे दोश्रो कुनै उद्देश्य नरहेको बताएका छन्। पार्टीको आठौँ महाधिवेशनको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले त्यस कारण पार्टीलाई साथ दिन सबैसँग आग्रह गरे।

पार्टी अध्यक्ष बिजुक्छेँले आफ्नो पार्टीबाहेक अहिलेसम्म झण्डै सबै पार्टीहरू सरकारमा गएको र अहिलेको यो अवस्था आउनुमा उनीहरू सबै दोषी भएको बताए। उनले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताउँदै टुँडिखेलमा ल्याएर जनताले कारबाही गर्नुपर्ने भनाइ राखे। 'अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन्,' उनले भने, 'यिनीहरूलाई काठमाडौँको टुँडिखेलमा ल्याएर जनताले कारबाही गर्नुपर्छ।'

देशमा राजतन्त्र र प्रजातन्त्र वा लोकतन्त्रिक व्यवस्था दशकौं देखेको तर यो व्यवस्थाले जनताको कुनै हित नभएको भन्दै अब समाजवादी व्यवस्थाको अर्काे विकल्प नभएको बताए। उनले ऐन कानुनमार्फत् देशद्रोही काम गर्ने सबैलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिए।

अधिवेशनमा पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवाल, केन्द्रीय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरूले देशमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको तर उनीहरूमध्ये आफूहरूको पार्टी मात्रै सच्चा कम्युनिष्ट पार्टी भएको दाबी गरे।  

आजदेखि सुरु भएको महाधिवेशन फागुन १९ गतेसम्म चल्ने छ। महाधिवेशनका लागि सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरू सहभागी रहेका पार्टीले जनाएको छ। उद्घाटनअघि काठमाडौँ कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस भएको थियो। बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटन स्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुगेका थियो। पार्टीको आठौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ।

पार्टीको स्थापना विक्रम संवत् २०३१ साल माघ १० गते भएको थियो। पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो।

सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ। यसअघिको सातौँ महाधविशेनले बिजुक्छेँको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए।

सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए। त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए। कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए। निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो।

पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ रही आएका छन्। ८५ वर्षका बिजुक्छेँ नेतृत्वको पार्टीमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन्।

पार्टीको स्थापना २०३१ माघ १० मा भएको थियो। त्यसपछि प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०८१ १८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App