नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई योबेला महाधिवेशनको चटारो छ । पार्टीको आठौं महाधिवेशन यही फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा हुँंदैछ ।
पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवालले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाए । महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाहरुबाट जनताको सहभागिता हुने उनले जनाए ।
पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम फागुन १६ गते सल्लाघारीमा रहेको खुल्ला क्षेत्रमा दिउँंसो १ बजे हुने कार्यक्रम तालिका छ । यसअघि विभिन्न ठाउँंहरुबाट जुलुश निकालेर उदघाटनस्थल सल्लाघारी पुग्नेछ । काठमाडौंको कोटेश्वर, भक्तपुरको लान्चाफल्चा कमलविनायक, मध्यपुर थिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक वस स्टप लगायतका ठाउँंहरुमा विहान १० बजे भेला भई जुलुश गरेर कार्यक्रम उदघाटनस्थल सल्लाघारीमा दिउँंसो १ बजे पुग्ने तालिका सार्वजनिक गरिएको छ ।
पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले महाधिवेशन भव्य रुपमा सम्पन्न हुने दाबी गर्दै यसका लागि आवश्यक तयारी महिनौंदेखि चल्दै आएको बताए । नारायणमान विजुक्छेंको नेतृत्वमा २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देहीको भैरहवामा भएको थियो ।
पार्टीको सातौ महाधिवेशनसम्म पनि संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नेतृत्वमा सर्वसम्मत चयन हुँदै आएका छन् । यसअघिको सातौ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो, जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक सदस्य थिए ।
१९९६ मा भक्तपुरमा जन्मिएका बिजुक्छे अहिले ८५ वर्षका भए । २०३१ सालमा स्थापना भएको पार्टीमा लगातार अध्यक्ष चुनिदै आएका उनी आठौं महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने हुन् कि त्यो भने हेर्न बाँंकी नै छ ।
प्रकाशित: १३ फाल्गुन २०८१ १७:३९ मंगलबार