नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि लडेका, शहादत प्राप्त गरेका र दुःख पाएकाहरूलाई कांग्रेसले हर सम्भव सम्झने वचन दिएका छन्। बुधवार पार्टी निकट नेपाल प्रजातन्त्र सेनानी सङ्घको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले यस्तो वचन दिएका हुन्।
‘देशभरका धेरै साथीहरूले शहादत प्राप्त गरेका छन्,’ सभापति देउवाले भने, ‘लडेका छन्, आफ्नो ज्यान दिएका छन्, गुमाएका छन्। कति जीवनभर जेल परेका छन्। दुख पाएका छन् । त्यस्ता साथीहरूको जमात जुन कांग्रेसमा आएको छ त्यस्ता साथीहरूलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।’
प्रजातन्त्र प्राप्तिका लागि लड्ने हर सेनानीलाई पार्टीले सम्झिने उनले बचन दिए। ‘हुन त जहिले पनि भन्ने चलन छ, पछि गएर बिर्सिन्छ कांग्रेसले भनेर। हामी जसरी पनि अवश्य नै यथासम्भव सहयोग गर्ने बचन दिन चाहन्छु,’ सभापति देउवाले भने। प्रजातन्त्र सेनानीहरूकै योगदान, त्याग तपस्याले आज नेपालमा गणतन्त्र प्राप्त भएको पनि उनले बताए।
उनले भने, ‘म पार्टी सभापति भएको नाताले पनि बढी जिम्मेवारी छ। स्वतन्त्रता सेनानीको सम्बोधन गर्न बढी जिम्मेवारी मेरो काँधमा छ।’
प्रकाशित: ७ फाल्गुन २०८१ १५:३९ बुधबार