श्री जोरगणेश सामुदायिक सिकाइ केन्द्रको सक्रियता तथा काठमाडौं महानगरपालिका सामाजिक विभागको सहयोगमा ‘नेतृत्व विकास तालिम’ सम्पन्न भएको छ। काठमाडौंको खुसीबुँस्थित नेपा ब्याक्वेटमा सोमबार भएको एक दिने तालिममा ६० जना सहभागी रहेका थिए। तालिमको उद्घाटन गर्दै सिकाइ केन्द्रकी अध्यक्ष सजनी महर्जनले स्थानीय समुदायमा नेतृत्व विकासको आवश्यकतामाथि प्रकाश पारिन्।
‘समुदायको सशक्तीकरणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य छ,’ कार्यक्रमकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रभावकारी नेतृत्वको महत्वबारे जोड दिँदै भनिन्, ‘नेतृत्व भनेको केवल पद प्राप्त गर्नु मात्र होइन, समाजलाई सही दिशामा डोर्याउनु हो। एक प्रभावकारी नेताले आफू मात्र अघि बढ्दैन, समुदायलाई समेत संगठित गर्दै अवसर सिर्जना गरिदिन्छ।’ काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनले तालिमका सहभागीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे।
प्रशिक्षक रूपेन्द्र महर्जनको नेतृत्वमा सञ्चालित तालिममा सहभागीले नेतृत्व सिद्धान्त, समस्या समाधानका उपाय, निर्णय क्षमताको विकास र परिवर्तनकारी नेतृत्वका प्रविधिहरू सिकेका थिए। तालिमका क्रममा आत्म–प्रेरणा, सञ्चार दक्षता र समस्यासँग जुझ्ने क्षमताका विषयमा विशेष कार्यशालाहरू सञ्चालन गरिएको थियो।
प्रकाशित: ६ फाल्गुन २०८१ ०८:४९ मंगलबार