विधानत: नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको १० महिनाभित्र भइसक्नुपर्छ। १४औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न गरेको कांग्रेसमा निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुन्छ। जसअनुरूप कांग्रेसले १५औं महाधिवेशन २०८२ मंसिरभित्र गरिसक्नुपर्छ।
तर, मितिका बारेमा कांग्रेसमा विवाद सुरु भएको छ। संस्थापन पक्ष २०८६ तिरै पुर्याइँदा पनि ठीकै हुनेमा छ भने संस्थापनइतर पक्ष १५औं महाधिवेशन विधानले तोकेकै समयमा हुनुपर्ने अडानमा छ। संस्थापनइतर नेताहरू डा. शेखर कोइराला, गगन थापालगायतले त्यसैगरी तयारी पनि थालेका छन्।

कोइराला-थापाको सक्रियताबारे सभापतिका आकाङ्क्षी अरु नेताहरूले चासो देखाउँदै सभापति शेरबहादुर देउवालाई नै सोध्न भ्याएका छन्। गत शुक्रबार मात्रै ११ नेताहरू सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर 'कोइराला-थापाको सक्रियताप्रति तपाईंको धारणा के हो ?' भनेर सोध्न भ्याइसकेका छन्। अर्थात्, उनीहरूले 'हामी पनि छौँ' है भन्ने सन्देश दिएर फर्किएका छन्।
शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्री भने बन्नु नै छ। त्यसबाहेक बितिहाल्ने उनका लागि अरु केही छैन।
तर, देउवा भने 'विन्दास' देखिन्छन्। न कुनै बित्तो, न कुनै हतारो! प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोलाउँदा सिंहदरबार-बालुवाटार पुग्नु र पार्टीका कार्यक्रमहरूमा कहिलेकाहीँ निस्कनु बाहेक अरु काम देखिएको छैन देउवाको अहिले। त्यसैले देउवा हिजोआज बूढानीलकण्ठकै निवासमा फुर्सदिरहन्छन्।
त्यसो त पार्टीको विधानअनुरूप अब उनले पार्टीको सभापतिमा उम्मेदवारी दिन पाउँदैनन्। कांग्रेसको विधानमा दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन। १३औं महाधिवेशनमा पहिलो पटक सभापति निर्वाचित भएका देउवा १४औं महाधिवेशनमा दोस्रो पटक सभापति बनेका थिए। यसर्थ, अब उनले सभापति बन्न पाउँदैनन्।
पार्टीको विधानलाई देउवाले सहर्ष स्वीकारिसकेका पनि छन्। संशोधन गरेर वा अनेकन् जुक्ति निकालेर तेस्रोपटक सभापति बन्ने उनको चाहना देखिँदैन पनि। यसअघि सार्वजनिक कार्यक्रममा नै उनले भनिसकेका छन्, 'म बिदा हुन्छु। क्षमतावान् साथीहरू आउनुस्। त्यसलाई स्वागत गर्छु।'
उनीनिकट नेता मीन विश्वकर्माका अनुसार देउवाले आफू सभापतिबाट हट्दै गर्दा क्षमतावान् नेता पार्टी नेतृत्वमा आऊन् भन्ने चाहेका छन्। 'उहाँले सभापतिबाट बिदा हुन्छु भनिसक्नुभएको छ। त्यसमा समस्या छैन। प्रजातान्त्रिक पार्टी हो कांग्रेस। स्वाभाविक रूपमा नेतृत्वको आकाङ्क्षीहरू धेरै नेता हुनुहुन्छ। उहाँहरूले प्रतिस्पर्धा गर्नुहुन्छ र आउनुहुन्छ। तर,सभापतिजीले नेतृत्व गर्ने मान्छे हुनुपर्छ भन्ने चाहना व्यक्त गर्नुभएको छ। अहिलेका लागि उहाँको हतारो छैन,' विश्वकर्मा भन्छन्।
यो पनि पढ्नुहोस्
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
जे होस्, देउवालाई केही भ्याउनुपर्ने बित्तो र केही उम्किने हतारो छैन, छ त केवल चुनावी सरकारको नेतृत्व गर्ने चाहना। त्यसमा पनि उनको अधीरता देखिँदैन। गत असार १७ गते मध्यराति नेकपा (एमाले) सँग सत्ता गठबन्धन निर्माण गरी नयाँ सरकार गठन गर्ने सताबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका देउवा आफ्नो पालो कुरेर धीरताका साथ बसिरहेका छन्।

सातबुँदे समझदारीमा ओली र देउवाले पालैपालो डेढ-डेढ वर्षको समयावधि प्रधानमन्त्री चलाउने सहमति छ। जसअनुसार ओली गत असार ३० गते प्रधानमन्त्री बनेर यहाँसम्म आएका छन् भने देउवाले आफ्नो पालो कुरेर धीरताका साथ बसिसकेका छन्।
त्यसैले पनि उनी प्रधानमन्त्री ओलीका प्रति नरम गरी नै प्रस्तुत हुन्छन्। गत माघ १८ गते सुरु भएको संसद्को हिउँदे अधिवेशनमा कांग्रेसकै अरु सांसदले प्रधानमन्त्री ओलीको आलोचना गरिरहँदा देउवाले सरकारको समीक्षा गर्ने बेला भइनसकेको जोड दिँदै सरकारले राम्रै प्रयास गरिरहेको बताएका थिए।
अरु मञ्चहरूमा पनि देउवा ओली सरकारका प्रति नरम नै देखिन्छन्। कांग्रेसको प्रमुख समर्थनमा ओलीको नेतृत्वमा सरकार बनेयता उनले कहीँ पनि तितो बोलेका छैनन्। अरु नेताहरूले ओली सरकारको आलोचना गर्दा पनि उनी मौनप्राय:छन्। जे होस्, उनी ओलीलाई चिढ्याउन चाहँदैनन्।
जसै सिधासिधी रूपमा भन्दा प्रधानमन्त्रीका लागि देउवाको यो अन्तिम मौका हो। अब उनले चाहेर पनि प्रधानमन्त्री बन्न पाउँदैनन्। किनकि उनी प्रधानमन्त्री बन्ने बाटोमा नहुन सक्छन्। संवैधानिक प्रावधानअनुरूप प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्छ। दलको नेता सभापति नै हुनुपर्छ भन्ने कानूनी छेकबार त छैन। तर, साधारणतया अभ्यासमा भने सभापति नै बन्ने गरेको पाइन्छ। तर,यदि सभापतिबाट हटेपछि पनि सांसद भएर संसदीय दलको नेता चुनिए भने पुन: प्रधानमन्त्री बन्न सक्छन्। भनिन्छ- उनलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने योग देखेका छन्।
तर, उमेरको कारणले पनि अब देउवा त्यस्तो लालची नबन्लान्। ७७ उँभो लागिसकेका उनी त्यस्तै लालची बनिहाले पनि उनको तीव्रत्तर आलोचना हुन्छ। जुन, उनलाई राम्रैसँग थाहा छ। उनीकिटक एक नेता भन्छन्, 'अब सभापतिजी सौहार्दपूर्ण रूपमा जानुहुन्छ। उहाँले बाहिरै बसेर पार्टीलाई सघाउने भन्नुभएको छ। उहाँको कुनै हक र दाबी रहँदैन।'
तर, देउवालाई छैटौँ पटक प्रधानमन्त्री भने बन्नु नै छ। त्यसबाहेक उनका लागि बितिहाल्ने केही छैन। त्यसैले पार्टी सभापतिका आकाङ्क्षी अरु नेताहरू १५औं महाधिवेशनको तयारीमा जुट्दा उनलाई विन्दास छ।
यो पनि पढ्नुहोस्
प्रकाशित: ५ फाल्गुन २०८१ ०८:०३ सोमबार