लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद कलवारको उपस्थितिमा आइतबार आयोजित राहत वितरण कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले अवरोध गरेका छन्।
डिभिजन वन कार्यालयद्वारा मधुवन नगरपालिका–खाता सामुदायिक वन समन्वय समिति हलमा आयोजित कार्यक्रममा वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिँदै थियो। तर, नगरप्रमुख भाटले राहत वितरणमा जालझेल भएको दाबी गर्दै पीडित परिवारलाई राहत नबुझ्न आग्रह गरेका थिए।
कार्यक्रम निर्धारित समयअनुसार बिहान ११ बजे सुरु हुने तय थियो। तर, वनमन्त्रीसहितको टोली करिब ४ बजे मात्र कार्यक्रमस्थलमा पुगेपछि नगरप्रमुख भाट असन्तुष्ट बनेका थिए। उनले संघीय सरकारले दिनुपर्ने १० लाख र प्रदेश सरकारले दिनुपर्ने १ लाख राहत नदिइकन वितरण गर्न लागिएको भन्दै आपत्ति जनाए।
नगरप्रमुख भाटसँगै वडाध्यक्षहरू राजेन्द्र हमाल र नारायण मल्लले पनि राहत रकम घटाइएको भन्दै असन्तोष व्यक्त गरे। नगरप्रमुख भाटले राहत वितरण प्रक्रियालाई ‘अनुचित’ भन्दै कार्यक्रम बहिष्कारको घोषणा गरेका थिए।
नगरप्रमुख भाट र उनका समर्थकहरू कार्यक्रम स्थलबाट बाहिरिएपछि राहत वितरण सम्भव भएको थियो। वनमन्त्री कलवारले वर्तमान कार्यविधिअनुसार राहत वितरण गर्न लागिएको स्पष्ट पार्दै यस्तो अवरोध ‘अनुचित’ भएको बताए।
“समस्या भए समन्वयमार्फत समाधान खोज्नुपर्छ, राहत वितरण रोक्ने काम नगरप्रमुखबाट अपेक्षित थिएन,” मन्त्री कलवारले भने। वन डिभिजन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार वन्यजन्तु आक्रमणबाट मृत्यु भएका परिवार तथा नगदेबाली क्षति भएकालाई चेक तथा नगद हस्तान्तरण गरिएको छ।
प्रकाशित: ४ फाल्गुन २०८१ २०:५६ आइतबार