३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

‘म नागरिक म बनाउँछु नेपाल’: राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ क्रियटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान भएको बताएका छन् । शुक्रवार विराटनगरमा आयोजना भएको क्रियटर च्याम्पियन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाल रिपब्लिक मिडियाले थालेको अभियान राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान भएको बताएका हुन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सबै तहमा रहेका नेपाली नागरिकले आफ्नो जिम्मेवारी पूरा गरे देश बनाउन धेरै समय नलाग्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले प्रिन्ट मिडिया, अनलाइन र सामाजिक सञ्जाललाई सकारात्मक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।

 उनले अहिलेको प्रणाली विगतको भन्दा राम्रो भएका कारण आफ्नो कर्तव्य र दायित्व भुलेर गाली गर्नु उपयुक्त नभएको बताए । कार्कीले भने, ‘कोही हत्या, हिंसाको बाटोबाट आएर अहिलेको प्रणालीलाई गाली गरिरहेको र  विगतमा काम गर्न नसकेर जनताबाट विस्थापित भइसकेकाहरूले पनि अहिलेको प्रणालीलाई गाली गरिरहेका छन् ।’  

मुख्यमन्त्री कार्कीले जिल्ला, अञ्चल, विकास क्षेत्र हुँदा भन्दा अहिलेको सङ्घीयतामा कम खर्च भइरहेको दाबी गरे । जुनसुकै विषयमा पनि सरकारलाई गाली गर्ने प्रवृत्ति बढेको भन्दै मुख्यमन्त्री कार्कीले नागरिकले आफ्नो दायित्व बुझ्न जरुरी रहेको धारणा राखे ।  

राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए ।  मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिको व्यवसायीकरण आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेका कारण कोसी प्रदेश सरकारले धार्मिक पर्यटनलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका धार्मिक पर्यटकीय स्थलहरूलाई सुविधा सम्पन्न बनाउने विषयमा सरकार लागि परेको बताए ।  

मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकारले पदयात्राका मार्गहरूको विकासका लागि पनि काम थालिसकेको जानकारी दिए । उनका अनुसार चिया ट्रेड, लाली गुराँस ट्रेड, महागुरु फाल्गुनन्द ट्रेल र मुन्दुम ट्रेलको निर्माण गरी स्वदेशी तथा विदेशी पर्यटक भित्राउने कोसी प्रदेश सरकारले लक्ष राखेको बताए । 

उनले पदमार्गको निर्माण गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठुलो सङ्ख्यामा रोजगारी पनि सृजना गर्ने प्रदेश सरकारको लक्ष रहेको स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले पहाडबाट तराई र विदेशतिर बसाई सर्ने प्रवृत्तिको अन्त्य गरी पहाडतिर बसाई सर्ने वातावरण निर्माण गर्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । ‘अब, पहाडतर्फ नै अन्य क्षेत्रबाट बसाई सर्ने अवस्था बनाउँदैछौं’ मुख्यमन्त्री कार्कीले भने ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले केही मानिसहरूले देश बन्दैन भन्दै अफवाह फैल्याउने गरेको बताए । देशका विषयमा नकारात्मक भाष्य सृजना गर्ने प्रयास भइरहे पनि नागरिक तहबाटै यस्ता अफवाहहरूलाई चिर्न आवश्यक रहेको उनको भनाई छ । 

अठोट, इच्छा शक्ति र इमानदार भए देश बनाउन धेरै समय नलाग्ने दाबी गर्दै उनले मुलुक बनाउने दायित्व सरकारको मात्रै नभई आम नागरिकको भएको उल्लेख गरे । सबैको साझा प्रयास भए केही वर्षमै समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ थियो ।  

कार्यक्रमका  मेन्टर तथा मोरङ अटो वर्कसका अध्यक्ष विष्णु अग्रवालले व्यापारमा अठोट र प्रतिबद्धता आवश्यक रहने धारणा राखे । उनले भने, ‘व्यापार गर्दा उतार चढाव आउने भए पनि निरन्तरता, अठोट र प्रतिबद्धता भए व्यापारमा सफलता मिल्छ ।’ 

अग्रवालले नयाँ पुस्ताले धैर्यताका साथ आफ्नो ‘आइडिया’लाई  निरन्तरता दिए एक दिन सफलता मिल्ने बताए । उनले विराटनगरमा सामान्य ग्यारेजबाट सुरु भएको मोरङ अटो अहिले देशकै स्थापित ब्रान्ड हुन सफल भएको उदाहरण दिए ।  

कार्यक्रमकी मेन्टर तथा एनसेलकी निर्देशक विशाखा खड्काले एनसेलले वार्षिक ३ खर्ब बढी रकम सरकारलाई कर तिरिरहेको बताउँदै एनसेल फाउन्डेसनमार्फत विभिन्न सामाजिक काममा वार्षिक २ अर्ब बढी रकम खर्च गरिरहेको जानकारी दिइन् ।  

कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले नागरिक दैनिकले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका साथ राष्ट्र निर्माणका लागि युवा पुस्तालाई जागरूक बनाउन अभियान सञ्चालन गर्दै आएको बताए ।  

कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  

नेपाल रिपब्लिक मिडियाले देशभरबाट भिडियो मार्फत प्रस्तुत गरिने उत्कृष्ट आइडियालाई पुरस्कृतसमेत गर्ने कार्यक्रममा जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरूलाई भिडियो बनाउने तरिकाका विषयमा पनि जानकारी गराइएको थियो ।  

कार्यक्रममा विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।  

‘म नागरिक म बनाउँछु नेपाल’ आइतबार जनकपुरमा आयोजना हुँदै छ।  

प्रकाशित: २ फाल्गुन २०८१ १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App