१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गोकुल भन्छन्: भौतिक मन्त्रीको कानमा बतास पसोस्, नभए ढुंगा खाने स्थिति बन्यो

नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले धुलिखेल–खावा सडकखण्डको निर्माण तत्काल सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले चार जना प्रधानमन्त्री र धेरैजना मन्त्री फेरिए पनि चार किलोमिटर सडक नबनेको भन्दै असन्तुष्टि व्यक्त गरे।

स्थानीय जनता आक्रोशित भएको बताउँदै उनले यदि अब पनि काम नभए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले "ढुंगा खाने" अवस्था आउने चेतावनी दिए।

"चार वटा प्रधानमन्त्री फेरिए, चारै वटा मन्त्री पनि। सचिव कति फेरिए थाहा छैन। तर चार किलोमिटर बाटो अझै बनेको छैन। भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत। यही कुरा भन्नु भनेका छन् जनताले। नभए ढुंगा खाने स्थिति बन्यो अब," बास्कोटाले भने।

उनले काभ्रेपलाञ्चोक जिल्ला तरकारी उत्पादनका लागि महत्त्वपूर्ण क्षेत्र भएकाले यहाँ पाँच वटा कोल्डस्टोर बनाउन बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे। "काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेका किसानले उत्पादन गर्छन्। सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर निर्माण गर्नुपर्छ," उनले थपे।

प्रकाशित: २९ माघ २०८१ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App