नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्। उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरूलाई एक हुन निर्देशन दिए।
कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले भने ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन जरुरी छ।’ उनले पार्टी भित्र बलियो एकता कायम हुन सके कुनै पनि निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गरे।
पार्टीलाई बलियो बनाउनका लागि विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एक बन्नु पर्ने समेत देउवाले बताए।
उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको समेत बताए। साथै, तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागि विज्ञहरूसँग परामर्श गर्ने भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारेमा आफूले छलफल गर्ने समेत बताए।
‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई बिस्तार गर्न जरुरी छ, दाङका लागि यो निकै आवश्यक छ,’ सभापति देउवाले भने ‘विमानस्थल स्तरवृद्धिका लागि मैले विज्ञहरूसँग छलफल गर्छु र अहिलेका प्रधानमन्त्रीले पनि भनेको मान्नु हुन्छ भन्नेमा म विश्वस्त छु।’
यसैगरि सभापति देउवाले सबै वर्ग समुदायलाई अधिकारको प्रत्याभूत हुने गरि काम लिनु पर्ने बताए। हरेक नागरिकलाई समान अधिकार दिइनु पर्ने भन्दै देउवाले कसैलाई पनि पक्ष वा विपक्षमा राख्न नहुने बताए।
‘हरेक नागरिकलाई समान अधिकार दिइनुपर्छ, कसैलाई पनि काखा पाखा गर्न पाइँदैन,’ देउवाले भने ‘हरेक जाती समुदायका नागरिकलाई अपनत्व हुने गरि काम गरिनु पर्छ।’
प्रकाशित: २७ माघ २०८१ १६:१९ आइतबार