नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अहिले पनि सक्रिय रहेको बताएका छन्।
भक्तपुरस्थित बागीश्वरी माविको ६६औं, र बागीश्वरी कलेजको १७औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रमको बिहीबार (आज) उदघाटन गर्दै उनले यस्तो बताएका हुन्।
प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा रजगज रहँदा गणतन्त्र विरोधीहरूले चलखेल गर्ने मौका पाइरहेको उनले बताए।
प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुने बताउँदै उनले प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र पनि कमजोर हुने बताए। 'सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन,' उनले भने, 'त्यसकारण पदमा बस्नेहरूको बौद्धिक स्तर मापन गर्नुपर्छ।'
फरक प्रसङ्गमा उनले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताए। उनले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने माग राखे। 'भक्तपुरलाई विश्वविद्यालय नदिने सरकारको ठूलो गल्ती हो,' उनले भने।
नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको बताउँदै उनले भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैँमा विश्वविद्यालयका महत्त्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गरे।
प्रकाशित: २४ माघ २०८१ १९:५९ बिहीबार