राप्रपा नेपालका अध्यक्ष कमल थापाले विद्यमान व्यवस्था र अवस्था बदल्न आन्दोलनमार्फत धक्का दिनुपर्ने समय आएको बताएका छन्।
पार्टीको पूर्वाञ्चल तराई-मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने चिन्तासमेत व्यक्त गरे। 'अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो छ,' उनले भने।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नुपर्ने बताए। अध्यक्ष थापाले एजेन्डा स्थापित गर्ने समयानुकूल भएको र आन्दोलनमार्फत धक्का दिनुपर्नेमा जोड दिए।
'एजेन्डा मिल्नेहरू एक ठाउँमा बसेर अघि बढ्नुपर्छ, त्यो समयको आवश्यकता हो, माग हो। संकीर्णता, द्वैध चरित्र र अहङ्कारले केही समस्या ल्यायो भने पनि मिल्न सक्नेहरूका बीचमा चाहिँ अब एकता प्रक्रिया सुरु गर्नुपर्छ,' उनले भने।
उनले हिन्दुवादी, राजावादी, देशभक्त र प्रजातन्त्रवादीका बीचमा ध्रुवीकरण हुनुपर्ने पनि बताए।
प्रकाशित: २३ माघ २०८१ १५:४४ बुधबार