इजरायलका राष्ट्रपति इज्याक हर्जोगले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयास भइरहेको बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग टेलिफोन कुराकानी गर्दै इजरायली राष्ट्रपति हर्जोगले यस्तो बताएका हुन्।
राष्ट्रपति हर्जोग र राजदूत पण्डित बिचको उक्त संवादबारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिएको छ।
‘टेलिफोन वार्तामा इजरायलका राष्ट्रपतिले अन्य कुराहरूका साथै ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमणका क्रममा हासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीलगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।
२०८० सालको असोज २१ गतेदेखि विपिन हमासको कब्जामा छन् । उनको रिहाइका लागि नेपाल सरकारले समेत आवश्यक पहल गरिरहेको छ । इजरायल र हमासबीच अहिले जारी युद्धविरामका क्रममा विपिन पनि रिहा हुने अपेक्षा सबैको छ । इद्यपि यसमा ठोस आधार भने अहिलेसम्म देखिएका छैनन् । इजरायल र हमासले एकअर्काको कब्जामा रहेका बन्दीहरु रिहा गर्नेक्रम पनि जारी छ ।
हमासले १६ नेपाली रहेको गाजा क्षेत्र नजिक इजरायलको किबुज अलुमिममा रहेको बंकरमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने विपिनलाई हमासले बन्धक बनाएको थियो ।
प्रकाशित: २३ माघ २०८१ १२:५२ बुधबार