जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले केही पनि काम नगरेको टिप्पणी गरेका छन्।
अध्यक्ष यादवले नागरिकसँग कुराकानी गर्दै भने, 'सरकारले केही काम गरेको छैन। देश दलदलमा फसिरहेको छ। अब अहिले २६ अर्ब ऋण बोकिसक्यौँ, सरकारको काम के छ ? के गरेको छ सरकारले ?'
तपाईंको दलले पनि समर्थन गरेको सरकार होइन र ? भन्ने जिज्ञासामा उनले भने, 'अब सरकारलाई हाम्रो समर्थनको कुनै अर्थ छैन। सरकार नै कहिलेसम्म रहन्छ, ठेगान छैन।'
सरकार पूरा अवधि नजाने उल्लेख गर्दै उनले थपे, 'सातबुँदे समझदारीले त ०८४ सम्मै जाने भनेको क्यारे। तर, त्यस्तो देखिँदैन। सरकारको कुनै ठेगान छैन, कहाँसम्म जान्छ थाहा छैन। बनेर पनि यो सरकारले केही गरेको छैन।'
अध्यक्ष यादवले अध्यादेशबारे कार्यदलको निर्णय नै अन्तिम हुने बताए। 'कार्यदलले प्रतिवेदनमा जे आउँछ, त्यसअनुसार गर्छौँ,' उनले भने।
संसद् अधिवेशन नचलेको बेला सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। उक्त अध्यादेश राष्ट्रिय सभाबाट पारित गर्नका लागि जसपा नेपाल निर्णयक देखिएको छ। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष यादवलाई फोन गरेर अध्यादेश पारित गर्नमा साथ दिन भनेका थिए।
यसपछि अध्यादेश अध्ययनका लागि जसपा नेपालले नेता राजकिशोर यादवको संयोजकत्वमा एउटा कार्यदल बनाएको छ। उक्त कार्यदलले मङ्गलबार (आज) विज्ञहरूसँग छलफल गरेको छ। भोलि प्रतिवेदन बुझाउँदैछ। उक्त प्रतिवेदनअनुरूप नै आफूहरू चल्ने अध्यक्ष यादवले बताएका छन्।
प्रकाशित: २२ माघ २०८१ १७:१७ मंगलबार