प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अब समृद्ध बनाउने लक्ष्य पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको युगमा पनि गरिबीको कलंक बोकेर बस्न नहुने भन्दै देशभित्रका स्रोतसाधन र युवा जनशक्ति परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल समृद्ध हुने आधार धेरै भएको उल्लेख गरे। उनले नेपाल गौरवशाली इतिहास बोकेको, स्वाधीनता जोगाएको, तथा उर्वर भूगोल र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएको बताउँदै यी सबै सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिए।
‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ। हाम्रो इतिहास, भूगोल, स्रोतसाधन, सबै पक्ष बलिया छन्। यो मरुभूमि देश होइन, यहाँ हिमाल, पहाड, समथर फाँट र उर्वर भूमि छन्। हामी तेल र फलाम उत्खनन गर्दैछौँ। हामीसँग ४२ प्रतिशत युवा जनशक्ति छ, जसले देशको मुहार फेर्न सक्छन्। अहिले पनि करिब २२ लाख युवा विदेशमा छन्, उनीहरू आफ्नै देशका लागि श्रम गर्ने वातावरण बनाउन सके नेपाललाई समृद्ध हुनबाट कसैले रोक्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भने।
उनले अब नेपालले आर्थिक उन्नति गर्नुपर्ने भन्दै प्रविधिको उच्चतम प्रयोग, औद्योगीकरण, र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘एआईको युगमा पनि गरिबीको कलंक बोकेर बस्न सकिन्न। सकेसम्म छोटो समयमा यसलाई अन्त्य गर्नुपर्दछ। हामी नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन दृढ संकल्पित छौँ,’ उनले जोड दिए।
प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको दोहोराउँदै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजान अब दृढ इच्छाशक्ति र ठोस कार्यान्वयनको आवश्यकता रहेको बताए।
प्रकाशित: २१ माघ २०८१ १५:०८ सोमबार





