१४ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी

निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्ने विषयमा सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएपछि ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले तीव्र असन्तोष व्यक्त गरेका छन्।

सत्ता गठबन्धनका दलहरूले दलगत ट्रेड युनियन खारेज गर्न सहमति जनाएपछि नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनको चेतावनी दिएको हो।

नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तमकुमार कटुवालले कांग्रेस र एमाले नेताहरूको अभिव्यक्तिको विरोध गर्दै ट्रेड युनियन खारेज गर्ने प्रयासको विरोधमा आन्दोलन गर्ने चेतावनी दिए।

सिन्धुलीमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको नवौं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष कटुवालले आन्दोलनबाट स्थापित अधिकार खोस्न खोजिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने बताए।

‘हामीलाई कार्पेट बिछ्याएर किस्ताबन्दीमा अधिकार दिइएको होइन। ट्रेड युनियन खारेज गरेर कर्मचारीमाथि धावा बोल्ने काम बन्द गरियोस्,’ उनले आक्रोशित हुँदै भने।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्य कृष्ण पौडेलले कर्मचारीको अधिकार खोस्ने अधिकार कसैलाई नभएको भन्दै ट्रेड युनियनका कारण सेवाप्रवाहमा कुनै कमी नआएको स्पष्ट पारे। साथै, उनले संघीय निजामती सेवा ऐन ल्याउन सरकारले ढिलाइ गरेको आरोप लगाए।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमाथि छलफल भइरहेका बेला कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलगत ट्रेड युनियन नराख्नुपर्ने धारणा राखेका थिए।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलले कर्मचारीको संरक्षण गर्ने जिम्मेवारी मुख्य राजनीतिक दलले लिनुपर्ने धारणा व्यक्त गरे। गाँउपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष तथा तिनपाटन गाउँपालिकाका अध्यक्षले पनि कर्मचारीलाई डर नभई भरोसा दिने वातावरण निर्माण गर्नुपर्ने बताए। ‘कर्मचारीको उत्साह जगाउने हो, कमजोर बनाउने होइन,’ उनले भने।

प्रकाशित: १२ माघ २०८१ २१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App