नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन् ।
पार्टीको आर्थिक नीति तथा योजना विभागले बुधबार गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताए । हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने धारणा राख्दै उनले वाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने उल्लेख गरे ।
महामन्त्री शर्माले भने, ‘हामी सम्भवतः एउटा चित्रको अपेक्षामा छौँ । स्वयं सिंगो सरकारले नै त्यो विषयमा प्रवेश गर्नुपर्ने हो की जस्तो लाग्छ । हाम्रो विभागले नै नेतृत्व गरिराखेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्छ । हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौँ, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरुरी छ ।’
महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रुपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्नै बताए ।
प्रकाशित: ९ माघ २०८१ १७:३५ बुधबार