प्रहरीले लागु औषधसहित तीन किशोरलाई नियन्त्रणमा लिएको छ। बाँसगढी नगरपालिका–३ मानखोला स्थितबाट लागु औषध ब्राउन सुगरसहित उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका–६ का १५, १६ र १७ वर्षका किशोरहरू रहेका छन्। उनीहरूको नाम थर खुलाइएको छैन।
जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरका अनुसार बाँसगढी नगरपालिका–३ मानखोला स्थित खुसिया थारुको पुरानो खाली घरमा लागु औषध किनबेच भइरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले उनीहरुलाई लागु औषधसहित फेला पारी नियन्त्रणमा लिएको हो।
‘किशोरहरूलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा रातो रङको प्लाष्टिकले बेरेर राखिएको अवस्थामा १२ पुरिया ३ सय ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ’ डिएसपी घर्ती मगरले भने ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’
प्रकाशित: ८ माघ २०८१ १५:४५ मंगलबार