नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवार साँझ एक भिडिओसहितको पोस्ट सामाजिक सञ्जालमा राखे। २ मिनेट ३८ सेकेन्ड जति लामो रहेको उक्त भिडिओमा महामन्त्री थापा छलफलमा देखिन्छन् ।
छलफलमा सुनिएको गगनको बोलीमा कीर्तिपुरमा भाषण गर्दा आफू ‘ट्रोल’ भएपछि लिएको ‘इख’ प्रस्ट झल्किन्छ।
‘कीर्तिपुरको डाँडोमा एउटा इलेक्सन क्याम्पेन(चुनावी सभा)को बेलामा एउटा विषय प्रसङ्गवश उठाएको थिएँ,’ भिडिओको सुरुवातमा गगन सुनिन्छन्, ‘तर, इलेक्सन पनि थियो होला, यसैले ट्रोल पनि भयो।’ गगनले दिएको त्यो बोलीबाट प्रस्ट हुन्छ, त्यो छलफल सूचना प्रविधि क्षेत्रका विज्ञसँगको थियो।
गगनको सचिवालयका अनुसार यो छलफल शुक्रवारको हो। सरकारले पछिल्लो पटक अध्यादेशमार्फत आइटी उद्योगका केही विषय सम्बोधन गरेपछि प्रतिक्रिया लिन गगनले आइटी विज्ञसँग छलफल गरेका हुन् ।
कीर्तिपुरमा गगनले के भनेको थिए ?(जस्ताको तस्तै)
केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । कतार काम गर्न जाने, इजरायल काम गर्न काम मुठ्ठी कसेर मात्र ती फिर्ता आउँदैनन्। कतारमा पाएको भन्दा बढी तलब यहाँ पाउन सक्ने अवस्था बनाएपछि मात्र आउँछन् । म सक्छु भन्ने ठान्छु, म भन्नाले नेपाली कांग्रेस । हामी सबैले सक्छौँ भन्ने ठान्नु पर्ने छ, सकिन्छ । यही बसेको केटाकेटीलाई महिनाको तीन लाख, चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर के मा छ ? नेपाल जस्तो देशले यसको अवसर ल्याएको छ सूचना प्रविधिले । सूचना प्रविधिको प्रयोग तपाईँले बेलुका टिकटक बनाउनेमा मात्र प्रयोग हुँदैन ।
तपाईँले बेलुका फेसबुकमा पोस्ट गर्ने कुरामा मात्र हुँदैन । सूचना प्रविधिले अभूतपूर्व अवसर नेपाललाई ल्याएको छ । तर, यो सूचना प्रविधिको अवसरका निम्ति हामीलाई जनशक्ति चाहिएको छ । पढेको, बुझेको जानेको जनशक्ति । मैले कृष्णमान(उम्मेदवार कृष्णमान डङ्गोल)जीको घोषणापत्र मगाएर पढेको तपाईँहरू पल्टाएर पढ्नुस् । दुई वटा कुराले मेरो ध्यान खिचेको छ । कृष्णमान आफ्नो घोषणापत्रमा भन्नुहुन्छ–म इसिडी अर्थात् म जित्नासाथ नर्सरी, केजी एक कक्षाभन्दा तलका कक्षामा ध्यान दिन्छु । म नर्सरीदेखिको बच्चालाई सूचना प्रविधिसँग जोड्छु । कीर्तिपुर विश्वविद्यालय भएको नगरपालिका हो, यहाँ विश्वविद्यालय पढिरहेका विद्यार्थीको सहयोग लिएर नेपालको यस्तो नगर बनाउन सकिन्छ जसको घरबाट निस्किएका बच्चाहरूले अबको पाँच÷छ÷सात÷आठ वर्षपछि कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यही कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई लाख, तीन लाख, चार लाख यही बसेर कमाउने छन् । त्यो बनाउन सकिन्छ । कृष्णमानको नेतृत्वमा हामी गर्न चाहन्छौँ ।
गगन भन्छन्: यो कुरा कीर्तिपुरमा मात्र भनेको होइन
आइटी क्षेत्रका विज्ञसँगको कुराकानीमा कीर्तिपुरमा आफू ट्रोल भए पनि यो विषय पहिल्यैदेखि बोल्दै आएको बताउँछन् ।
‘यो विषय फेरी म गएको डेढ दुई वर्षदेखि हुलाकी राजमार्गको यात्रा गर्दै गर्दा सबैतिर भन्दै आएको थिएँ । हाम्रो शैक्षिक लगानी खास गरीकन पोषणको स्थिति, विज्ञान, गणित र अङ्ग्रेजी हाम्रो बच्चाहरूलाई कति कम आउँछ यसले हामीले एउटा ठुलो आइटी उद्योगसँग जोडिने मौका गुमाउँदै छौँ । यसमा काम गर्नुपर्छ भन्दै भन्दै आएको थिएँ,’ गगनले भनेका छन्, ‘त्यो बेलामा सायदै मोफसलमा भनेको हुनाले खास धेरै मान्छेको ध्यान पनि गएन । त्यही कुरा मैले त्यहाँ दोहोर्याएको हुँ । सायद निर्वाचन थियो, त्यसले मलाई ट्रोल भयो।’
आफू कीर्तिपुरमा ट्रोल भएपछि त्यसले यो क्षेत्रमा आफूलाई जमेर काम गर्ने अवसर प्राप्त भएको पनि गगनले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसले मलाई अवसर पनि दियो, आइटी इन्डस्ट्रीमा राम्रोसँग जमेर काम गर्ने। साथीहरूसँग व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि संस्थागत ढङ्गले पछिल्लो समय कुराकानी भएको थिएन । एक प्रकारले भेट्ने अवसर जुर्यो।’
त्यहाँबाट अन्तिम दस्ताबेज बनाएर पहिले संयन्त्रको बैठकमा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गरेको गगनले बताए । त्यहाँ प्रस्तुत गरेर दस्ताबेज स्वीकार भइसकेपछि अहिले अध्यादेश आएको गगन बताउँछन् ।
त्यसपछि आफू आइटी क्षेत्रकै विज्ञसँग बसेर सरकारले गर्नुपर्ने कामका विषयमा छलफलमा जुटेको गगनले बताएका छन्। त्यसपछि आफू पहिले पनि एक पटक औपचारिक र अनौपचारिक रूपमा धेरै पटक आइटी क्षेत्रका विज्ञ तथा व्यवसायीसँग बसेको उल्लेख गरेका छन् । ‘मैले यही कुरा गरेको हो । एक, दुई, तीन केके कुरा गर्दिए हुन्थ्यो, सरकारका तर्फबाट भन्ने लाग्छ ? सबै कुरा नभए पनि आजको स्थितिमा सजिलो हुन केके गर्नुपर्छ ? उहाँहरूलाई लिखित रूपमै भयो भने हामीलाई सजिलो हुन्छ । उहाँहरूले पनि लिखित रूपमै तयार गरिदिनुभयो,’ गगनले भनेका छन्।
राजनीतिक स्तरमै छलफल
गगनले आफूले गरेको अघिल्ला छलफलमार्फत विज्ञ व्यवसायीबाट आएका कुरा एकीकृत गरेर राजनीतिक स्तरमा छलफल थालेको बताउँछन् । त्यसका लागि पहिले कांग्रेस–एमालेले सरकारलाई सकारात्मक काममा समन्वय गर्न बनेको राजनीतिक संयन्त्रमा राखेको गगनले बताएका छन् ।
‘संयन्त्रमा प्रस्तुत गरेपछि संयन्त्रले मलाई र नेकपा एमालेको महासचिव शङ्कर पोख्रेल जीलाई जोडिएर काम गर्न भन्नुभयो । शङ्कर जी धेरै खुला, उहाँले मैले गरेको कामलाई सकारात्मक लिनुभयो,’ गगन भन्छन्, ‘र, त्यसपछि हामीले अरू साथीहरूलाई जोड्यौँ ।’
त्यहाँबाट अन्तिम दस्ताबेज बनाएर पहिले संयन्त्रको बैठकमा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गरेको गगनले बताए । त्यहाँ प्रस्तुत गरेर दस्ताबेज स्वीकार भइसकेपछि अहिले अध्यादेश आएको गगन बताउँछन् ।
‘यो अध्यादेशबाट सबैभन्दा खुसी हुनुपर्ने हामी हो,’ उनी भन्छन्, ‘कीर्तिपुरको डाँडाले कसैलाई फाइदा भएको छ, भने हामीलाई भएको छ।’
‘अब दोस्रो चरणमा केके गरिदिए हुन्थ्यो ? केके कुरा तत्काल अत्यावश्यक छ ? साथीहरूबाट आइदियो भने हामी आठ÷१० दिनमा त्यो कुरा टुङ्ग्याउँछौँ,’ गगनले उपस्थित विज्ञसँग थप सुझाव मागेको सुनिन्छ ।
‘कीर्तिपुरको डाँडाले फाइदा भयो’
छलफलमा उपस्थित आइटी व्यवसायीको संस्था एनएएसटिआइटीका उपाध्यक्ष गौरव पाण्डेय कीर्तिपुरको डाँडामा गगन ट्रोल हुँदा आइटी क्षेत्रलाई फाइदा भएको बताउँछन् । ‘यो अध्यादेशबाट सबैभन्दा खुसी हुनुपर्ने हामी हो,’ उनी भन्छन्, ‘कीर्तिपुरको डाँडाले कसैलाई फाइदा भएको छ, भने हामीलाई भएको छ।’
आइटी क्षेत्रबाट देशले लाभ लिन सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमा श्रमिक कानुन अद्यावधिक गर्नुपर्ने जरुरी रहेको उनले बताए । अन्य कुरा आफूले लेखेरै सुझाव दिने पनि उनले भनेका छन्।
‘विश्वस्त छु, हामी सक्छौँ’
आइटी क्षेत्रका विज्ञ व्यवसायीसँग छलफल पछि गगनले सामाजिक सञ्जालमा गगनले आफू आफ्नो प्रतिबद्धता पूरा गर्न सक्नेमा विश्वस्त रहेको उल्लेख गरेका छन् । ‘म विश्वस्त छु, हामी सक्छौँ,’ उनले अगाडि लेखेका छन्, ‘नेपालमै सम्भावना उजागर गर्न सक्छौँ।’
‘हामीले यो क्षेत्रसँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ,’ गगनले प्रतिबद्धता जाहेर गरेका छन्।
नेपालमा अर्थतन्त्र र रोजगारीको हिसाबले सम्भावना बोकेको क्षेत्र आइटी रहेको कुरा उनले दोहोर्याएका छन् । ‘यो क्षेत्रले बोकेको सम्भावना बारे म उत्साहित छु। साथै यस क्षेत्रको हितको लागी धेरै सुधार गर्नुपर्नेछ भन्ने कुरामा प्रस्ट छु। त्यसको लागि प्रयास गरिरहेका छौँ।कानुनी र नीतिगत तहमा पछिल्लो समय हामीले गरेका पहलले केही समस्याको हल निक्लिएको छ। आइटी क्षेत्रका स्थापित देखी नवप्रवेशी युवाहरू यसबाट उत्साहित हुनुहुन्छ,’ गगनले लेखेका छन् ।
यो बिचमा धेरैसँग बसेर छलफल गरेको, सुझाव सुनेको प्रक्रियाको संयोजनको गगनले उल्लेख गरेका छन् । ‘हामीले यो क्षेत्रसँग सम्बन्धित अन्य सुधारका विषयमा सुझाव सुनिरहेका छौँ, अध्ययन गर्दैछौं। थप सुधारको लागी हामी कटिबद्ध छौँ,’ गगनले प्रतिबद्धता जाहेर गरेका छन्।
प्रकाशित: ६ माघ २०८१ १५:१२ आइतबार