राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शुक्रवार कोसी प्रदेशका सभापति राजेश तिम्सिनालाई पदबाट निलम्बन गर्यो। अरू जे भनिए पनि तिम्सिनालाई पदबाट निलम्बन गर्नु कारण पार्टीबाट निष्कासित पूर्व महामन्त्री डा. मुकुल ढकालसँगको उनको निजी सम्बन्ध हो।
तिम्सिनाले गत महिना मात्रै मुकुललाई पुरानै जिम्मेवारीसहित पार्टीमा फर्काउनुपर्ने भन्दै कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र लेखेका थिए। मुकुलमाथि कारबाहीको ६ महिनापछि पहिलो पटक पार्टीभित्र उनको पक्षमा बोल्ने कसैले धृष्टता गर्यो।
उसो त त्यति बेला मधेस प्रदेशका सभापति तपेश्वर यादवले पनि ‘सबै मिल्नुपर्ने बेला आएको’ भन्दै मुकुलको पक्षमा बोलेका थिए, उनले पनि कार्यवाहक सभापति अर्याललाई पत्र लेखेको सूचना बाहिरिएको थियो। तर, संस्थापन पक्षले उनलाई ‘चुप लगाएको’स्रोत बताउँछ ।
यता तिम्सिना भने चुप लागेनन्। उनले लेखेको पत्र पनि सार्वजनिक भयो। त्यसपछि रिसाएको रास्वपाको संस्थापन पक्षले विविध प्रक्रिया पूरा गरेर शुक्रवार पार्टीको अनुशासन समितिबाट तिम्सिनालाई कारबाही गराएको छ। पार्टीको अनुशासन आयोगको लेटर हेडमा ‘निलम्बन गरिएको पत्र’ काटियो। हस्ताक्षर आयोगका प्रमुख डा.भरतमणि देवकोटाले गरेका छन्।
देवकोटा तिनै ‘घरबेटी’ पनि हुन्, जसको घरमा रास्वपाको केन्द्रीय कार्यालय छ। रास्वपाले ‘घण्टीघर’ भने परिचय दिने वनस्थलीको चःमतिमा रहेको पाँच तले घरका धनी यिनै देवकोटा हुन्। यो तथ्य रास्वपाका सबैजसो नेताहरूलाई थाहा छ।
तर, शुक्रवार साँझबाट भने सामाजिक सञ्जालको समुदायमा रास्वपाको केन्द्रीय कार्यालयका घरधनी देवकोटा रहेको प्रचार भएको छ।
यो प्रचार अरू कसैले नभई उनै पूर्व महामन्त्री मुकुलले गरेका हुन्। कोसी प्रदेश सभापति तिम्सिनालाई पार्टीले कारबाही गरेपछि मुकुलले शुक्रवार साँझ र शनिवार बिहान गरी लगालग दुई वटा लामा स्टाटस हालेका छन् । शुक्रवार साँझको स्टाटसमा मुकुलले देवकोटालाई ‘रास्वपाको भाइरस’ भन्दै ‘घरबेटी बा’ भनेर उल्लेख गरेका छन् ।
यस्तो छ, शुक्रवार साँझको स्टाटस
मुकुलले यो स्टाटसमा देवकोटालाई ‘मेरै सिफारिसमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख भएका’ भनेर उल्लेख गरेका छन् ।
‘कुरा राम्रै चल्दै थियो, राजदूतको भागबन्डामा पार्टीलाई दुई जना राजदूत पर्यो,’ मुकुलले लेखेका छन्, ‘आफूलाई राजदूत बनाउनै पर्छ भनेर अड्डी कसे। म समीक्षा यात्रामा भएका कारण मैले त्यता ध्यान दिइन र गृहमन्त्रीसँगै कुरा गर्नु भनिदिए।’
त्यसपछि मुकुलले आफूले कुरा सकिएको सोचे पनि कुरा धेरै बाँकी रहेको अहिले थाहा भएको आशय उल्लेख गरेका छन् ।
मुकुलले समीक्षा यात्रामा रहँदा देवकोटाले ‘अनुशासन आयोगमार्फत पार्टीमा दूषित राजनीति गरिराखेको छन् भनेर’ आएको र त्यही भनाई आफूले जस्ताको तस्तै प्रतिवेदनमा उतारेको उल्लेख गरेका छन् ।
त्यसपछि मुकुलले स्टाटसमा देवकोटा केन्द्रीय कार्यालयका घरबेटी रहेको तथ्य उल्लेख गरेका छन् । ‘यिनी पार्टीको केन्द्रीय कार्यालयको घरबेटी पनि हुन्,’ मुलुकले अगाडि लेखेका छन्, ‘पार्टीलाई टन्न ऋण थुपारेका छन्। र, पार्टीलाई त्यही ऋण देखाएर एक पक्षीय निर्णयहरू गराउँदै हिँडेका छन्।’
राजदूत नपाएकै कारण देवकोटाले प्रतिशोध लिइरहेको पनि मुकुलले उल्लेख गरेका छन् ।
‘घरबेटी बा, रास्वपा सक्ने तपाईँको योजना पूरा हुने छैन। राजदूत नपाएकै आधारमा तपाईँले लिन खोजेको पार्टी प्रतिको प्रतिशोध विफल हुनेछ,’ मुकुलले लेखेका छन् ।
त्यसपछि शनिवार बिहानको स्टाटसमा पनि मुकुलले अनुशासन आयोगको प्रमुख बनेर दूषित राजनीति गरेको प्रमाण भन्दै देवकोटाविरुद्ध धावा बोलेका छन् ।
हेर्नुहोस् यो स्टाटस
यसमा मुकुलले २०७९ माघ १० गते संसद् भवन वानेश्वर अगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको प्रसङ्ग कोट्याएका छन् ।
जसमा आत्मदाह अघि आचार्यले फेसबुकमा राखेको स्टाटसमा इलामका व्यवसायी टीका ओडारीको नाम पनि उल्लेख गरेका छन्। तिनै ओडारी रास्वपा इलामका सभापति चयन भएको विषय मुकुलले कोट्याएका छन् ।
‘टिका ओडारी तिनै पात्र हुन् जसको नाम प्रेम आचार्यले आफ्नो सुसाइड नोटमा लेख्नु भएको छ । के लेख्नु भएको छ, तलको फोटोमा हाई लाइट गरिदिएको छु, पढ्न सक्नु हुन्छ,’ मुकुलले लेखेका छन्, ‘पार्टीभित्र फरक मत राखेकै आधारमा मलाई कारबाहीको सिफारिस गर्ने, फरक मत राखेकै आधारमा राजेश तिम्सिनालाई कारबाही गर्ने भरतमणि देवकोटाले प्रेम आचार्यले यसरी सुसाइड नोटमै नाम किटान गरेका टीका ओडारीलाई कारबाही गरेनन्, बरु उल्टै पुरस्कृत गरिरहेका छन् ।’
पार्टी भित्र गुटको राजनीतिक खेल देवकोटाले आफैँ गरिरहेको मुकुलले अगाडि लेखेका छन् ।
प्रकाशित: ५ माघ २०८१ १४:३९ शनिबार