परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
मन्त्री देउवाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो दिर्नेशन दिएकी हुन्।
‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेका छौं,’ मन्त्री देउवाले निर्देशन दिँदै भनिन्, ‘नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्याउने गरी कुनैपनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस्।’
आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरुलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उनको सुझाव थियो।
‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई विश्व बजारसम्म पुर्याउन आवश्यक छ,’ मन्त्री देउवाले भनिन्। उनले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्धन गर्ने कामका लागि आफू रहेका स्थानहरुमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरिन।
जलवायु न्यायको विषयलाई विश्वव्यापी रुपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै उनले निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ-आफ्ना ठाउँबाट लाग्न मन्त्री देउवाले आग्रह गरिन्।
प्रकाशित: ३ माघ २०८१ १९:३७ बिहीबार