प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन्।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे। उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे।
उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर् याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए।
तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए। उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए। यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
उनले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताए। 'हामी १०/५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो', प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने,'राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?'
सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे।
प्रकाशित: २९ पुस २०८१ १४:०४ सोमबार