७ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

भूकम्पपछि पुनःनिर्माणका लागि पाँच लाख दिने निर्णयबाट सरकार पछि हट्न खोज्यो

नेकपा (माओवादी केन्द्र) ले जाजरकोटसहित पश्चिम नेपालको भूकम्प र विपद् व्यवस्थापनसँग अघिल्लो सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। 

आइतबार बेलुका सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि कुरा गर्दै सो पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले यस्तो जानकारी दिएका हुन्। उनले जनसरोकारका विषय र तत्कालीन आवश्यकताका विषयहरूलाई गम्भीरताका साथ उठाएको उल्लेख गरे। 

अघिल्लो सरकारले पश्चिम नेपालको भूकम्प पीडितलाई दिने भनेको राहतबारे अहिलेको सरकार पछाडि फर्किन खोजेको महसुस आफूले गरेको भन्दै उनले भने, ‘मूलतः हामीले के कुरा उठायौँ भने जाजरकोट भूकम्प लगायत पश्चिम नेपालको भूकम्प र विपद् व्यवस्थापनसँग अघिल्लो सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्‍यो। त्यसमा ढिलो नहोस् भन्नेकुरा उठायौँ। त्यसमा अलिकति पछि फर्किन खोजेको सरकारको अवस्था हामीले महसुस गर्‍यौँ। जस्तो पुनःनिर्माणको लागि पाँच लाख रुपैयाँ प्रतिपरिवारलाई दिने निर्णय थियो। त्यसलाई घटाउन खोजिरहेको जस्तो महसुस गरेका छौँ।’ 

उनले थप्दै भने, ‘कार्यविधिमा स्पष्ट रुपमा लेखिएको थियो, एक परिवारको लागि विपद् आउनुपूर्व राज्यको रेकर्डमा अलग परिवारको रुपमा रेकर्डेड परिवारको रुपमा पुनःनिर्माणमा अलग परिवारको रुपमा सम्बोधन गर्ने कार्यविधिको जो व्यवस्था थियो त्यसमा पनि अलमलमा परेको महसुस गरेका छौँ।’ पश्चिम नेपालमा गएको भूकम्प लगायतका कुरामा सरकार गम्भीर नदेखिएको आरोप उनको थियो। 

प्रकाशित: २९ पुस २०८१ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App