२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्विकार्न पम्फा भुसालको आग्रह

माओवादी नेतृ पम्फा भुसालले सत्तारूढ दल कांग्रेस, एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्विकार्न आग्रह गरेकी छन्।

माओवादी चौतारा साँगाचोकगढी नगरपालिका नगर समितिको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई शनिबार चौतारामा सम्बोधन गर्दै उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पारिन्।

माओवादी उपाध्यक्ष रहेकी भुसालले अहिलेको सरकारले दुई दलीय व्यवस्थाको लागि संविधान संशोधन गर्न खोजेको जिकिर गरिन्। ‘माओवादी संशोधनको विपक्षमा छैन’, उनले भनिन्, ‘संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा कांग्रेस, एमाले आउनु पर्छ भनेका छौं।’

नेतृ भुसालले आगामी चुनावमा कांग्रेस, एमालेसँग गठबन्धन नगरी एक्लै निर्वाचन लड्ने दोहोर्‍याइन्। माओवादी सत्ता छोडेर जनतामा फर्किएको भन्दै उनले विगतका कमजोरी सच्याएर पार्टी अघि बढ्ने जनाइन्। ‘छिट्टै नयाँ कार्यदिशा लिएर ६ महिने पार्टी संगठन सुदृढीकरण अभियान लिएर जनताबिच जाँदैछौं’, भुसालले भनिन्।

माओवादी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य माधव सापकोटाले सरकार संविधान मिचेर निरङ्कुश बन्ने बाटोमा हिँडेको आरोप लगाए।

सरकार भ्रष्टाचारमा लिप्त रहेको अर्को आरोप लगाउँदै नेता सापकोटाले यदि त्यसो नभए भ्रष्टाचारको फाइल खोल्न चेतावनी दिए।

प्रकाशित: २७ पुस २०८१ १६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App