नेकपा एमालेले अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गरेको छ।
एमालेको केन्द्रीय कमिटी बैठकले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधनस्रोतले युक्त बनाउन आग्रह गर्दै भ्रष्टाचारजन्य सबै प्रकरणको अनुसन्धान गर्न आग्रह गरेको हो।
एमालेको केन्द्रीय कमिटीको बैठकपछि १४ बुँदामा प्रस्ताव पारित गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेका कामलाई थप प्रभावकारी बनाउन आग्रह गरेको हो। ‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्। यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्यायनिरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारविरुद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गर्छ,’ एमालेको केन्द्रीय कमिटी बैठकबाट पारित प्रस्तावमा उल्लेख छ, ‘आफ्नो पंक्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने–गराउने दृढ संकल्प गर्छ,’ पार्टी केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले पनि भ्रष्टचारका सबै प्रकरणमा सरकार निर्मम भएर प्रस्तुत हुने बताएका थिए।
उनले भ्रष्टाचारजन्य कार्यमा संलग्न जोकोहीलाई सरकारले अनुहार हेरेर चुप नबस्ने बताएका थिए। बैठकको समापनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका थिए।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूह कायम नरहेकाले त्यस्ता पूर्वसमूह खोज्नतिर नलाग्न आग्रह गरेका थिए।
‘एमालेमा अब कुनै पनि पूर्वसमूहहरू छैनन्। हामीले पूर्वसमूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौं। भरभराउँदो आजको एमाले खोजौं। हामी यथास्थितिवादी होइनौं, क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ,’ ओलीले सम्बोधनका क्रममा भने।
अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे। उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारका तर्फबाट गर्नपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्तायात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट पारेका थिए। उनले त्यसक्रममा पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको प्रचार गर्न पनि आग्रह गरे।
प्रधानमन्त्री ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताएका थिए। उनले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाड्ने अठोट पनि व्यक्त गरेका थिए।
बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्वदेशभित्र अवसर नदेखेर या भएको अवसर सदुपयोग गर्न नसकेर भइरहेको युवाहरूको ठुलो सङ्ख्यामा प्रवासनप्रति नेकपा एमाले चिन्तित र संवेदनशील छ। देशभित्रै केही गरौं भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दैै युवाहरूमा उद्यमशीलताको विकास गर्न, उनीहरूलाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गरेको बताए।
‘५० को दशकमा सशस्त्र द्वन्द्व, ६० को दशकमा शान्ति स्थापना र ७० को दशकमा संविधान निर्माण गर्दै अगाडि बढेको मुलुकमा ८० को दशकलाई समृद्धिको दशक र रोजगारी सिर्जनाको दशकका रूपमा अगाडि बढाउन सरकार सफल होस् भन्ने बैठक कामना गर्छ,’ गौतमले भने।
बैठकपछि प्रचार विभाग गौतमले जारी गरेको विज्ञप्ति अनुसार मिथ्या सूचना (मिसइन्फर्मेसन), दुराशययुक्त सूचना (डिसइन्फर्मेसन) र झुटा सूचना (फेक इन्फरमेसन) आज विश्वव्यापी चुनौती बनेको उल्लेख छ। ‘यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ। नेपाल पनि यो समस्यासँग जुधिरहेको छ। यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्या प्रचारलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्छ। पार्टीपंक्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलब्धि, सफलता र अग्रगतिका सूचनामार्फत जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
यसैगरी एमालेले केन्द्रीय कमिटीको बैठकबाट आगामी निर्वाचनमा सबैभन्दा ठुलो दखल बनाउने गरी लाग्ने प्रस्ताव पास गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता हो। यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव छ। यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव छ।
यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका सबै कमरेड र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ,’ बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एमालेको यो निर्णयपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जान लागेका वामदेव गौतमलाई एमालेमा फर्कन चाहे सहज हुने भएको छ।
राष्ट्रिय शक्ति निर्माण गर्न तीन महिने अभियान
एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण मुलुकको अहिलेको आवश्यकता रहेको ठहर गरेको छ। राष्ट्रिय शक्ति निर्माण भए मात्र राष्ट्रहित, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन सक्ने निष्कर्ष निकाल्दै एमालेले तीन महिने अभियान चलाउने भएके छ। त्यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने भन्दै पार्टी विभाजनलगायत कारणले बाहिर रहेका नेता–कार्यकर्तालाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ। यसका लागि एमालेले मिसन ८४ का १८ वटा कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको जनाउँदै तीन महिने वडा केन्द्रित कार्ययोजनालाई अघि बढाएको छ।
बैठकले तीन महिने वडा केन्द्रित कार्ययोजना अनुमोदन गरेको छ। जसअनुसार एमाले नेता–कार्यकर्ता माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन्। जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ बनाएको छ। यसअघि एमाले संगठन विभागले माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावका आधारमा आठौं केन्द्रीय कमिटी बैठकले तीन महिने कार्ययोजनासहितको कार्यक्रम बनाएको हो।
प्रकाशित: २४ पुस २०८१ ०६:२६ बुधबार