प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका छन्।
आइतबार सुरु भएर मङ्गलबार (आज) सकिएको केन्द्रीय कमिटीको समापन मन्तव्यका क्रममा उनले यस्तो बताएका हुन्।
'अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन। २०८७ सालमा एमालेको बहुमत पुग्छ, त्यसबेला संविधान संशोधन हुन्छ,' ओलीले भने।
ओलीले यस्तो बताएपछि केही नेताहरूले '०८३ सालमा...' भनेका थिए। तर, ओलीले दोहोर्याए भने, '०८७ साल नै भनेको। संविधान संशोधन ०८७ सालमै हुन्छ।'
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले किन त्यसो भन्नुएको भन्ने नागरिकको जिज्ञासामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, 'यो कुरा उहाँलाई नै सोध्नुपर्छ। दुईतिहाइ पग्दैन होला भनेर हो कि!'
गत असार १७ गते सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने समझदारी गरेको एमालेले संविधान संशोधन गर्ने भनेर समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
प्रकाशित: २३ पुस २०८१ १९:२८ मंगलबार