पूर्वका चार पहिचानवादी सङ्गठनहरू एउटै मोर्चामा मोर्चाबन्दी भएका छन् ।
प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम नेतृत्वको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको प्रदेश नं १ समिति संयुक्त पहिचानवादी मोर्चाको नाममा मोर्चाबन्दी भएका हुन् ।
शुक्रबार धरान उपमहानगरपालिका १२, चतरालाइनस्थित होटल पूर्वीस्टारमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चाबन्दी घोषणा गरिएको हो ।
आफूहरूले पहिचानवादीहरूको पार्टी बनाउन खोजेको पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले बताए । 'हामीले पहिचानवादीहरूको पार्टी बनाउन खोजेका छौँ,' नेता माखिमले भने, 'भविष्यमा पार्टीकै रूपमा अगाडि बढ्छौँ ।'
मोर्चा कहिले पार्टीमा बदलिन्छ भन्नेबारे भने अहिल्यै टुङ्गो लागिनसकेको नेता माखिमले बताए । नेताहरूले मोर्चाले वैकल्पिक राजनीतिको नेतृत्व गर्दै अगाडि बढ्ने बताएका छन् ।
मोर्चाका अधिकांश नेता-कार्यकर्ता लिम्बूवान् आन्दोलनसँग जोडिएकाहरू छन् ।
प्रकाशित: १२ पुस २०८१ १६:२५ शुक्रबार