१० पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले कुनै दुई मुलुकबिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने बताउँदै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे।

राजदूत हस्मीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराए। उनले आफूहरू आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न पनि इच्छुक रहेको बताए। 

प्रकाशित: ९ पुस २०८१ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App