लहानको मुख्य चोक (सहिद चोक) बाट करिब दुई किलोमिटर पश्चिम लागेपछि पडपरिया चोक आउँछ। यहाँबाट दक्षिण मोडिएपछि छ ‘महिला हस्तकला उद्योग’। यो उद्योगमार्फत परम्परागत सिप र मौलिक कलालाई मात्र नभई हजारौं गृहिणी महिलाहरूको जीवनमा आत्मनिर्भरताको रङ भर्दै आएकी छिन् - पार्वती चौधरी।
परम्परागत सिपको प्रयोग गरी थारु समुदायकी पार्वतीले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएकी छिन्। दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई उनले घरायसी प्रयोजनमा मात्रै सीमित राखेकी छैनन्, देश–देशान्तरसम्म फैलाएकी छिन्।
लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीबाट २०५१ सालमा लहान नगरपालिका–१ पडरिया आएपछि ६५ वर्षीया पार्वती चौधरीले आफ्नो सिपलाई घरबाहिर फैलाउने अठोट गरिन्।
गाउँमा हुँदा सासू र छिमेकी महिलाहरूले सिकी, मुज, मकैको खोस्टा, मोथी, फाकल पातबाट विभिन्न घरेलु सामग्री तयार पारेको उनी ध्यानपूर्वक हेर्थिन् । यसले उनको ध्यान आकर्षित गर्थ्याे। त्यही आकर्षणले उनलाई मौलिक सिपकलासँग जोडिने निर्णयमा पुर्यायो।
उनी ब्याग, फ्रुट बास्केट, पेन होल्डर, ज्वेलरी बक्स, पौती, ब्रेड बास्केट, वेस्ट पेपर बास्केट, डस्टबिन तथा यस क्षेत्रका विभिन्न समुदायका विवाह र पूजामा प्रयोग हुने डलिया, डला, पौती, विहरा, सिन्दूरदानीलगायतका सामग्री बनाउँछिन्। समाजमा आधुनिकता बढ्दै गए पनि यी सामग्रीको प्रयोग अझै जीवित छ। त्यसैले उनी तीन दशकदेखि यस मौलिक सिपलाई व्यापक बनाउँदै निरन्तर रूपमा संलग्न छिन्।
यसरी व्यापक बन्यो हस्तकला
आकर्षण र सिक्ने भोक त थियो नै, तर यसलाई व्यावसायिक बनाउन पार्वतीलाई तालिमको खाँचो थियो। उनले २०५१ सालमा घरेलु वस्तुबाट विभिन्न सामग्री बनाउने तालिम लिइन्। काठमाडौंमा तीन महिना तालिम लिएर गाउँ फर्केपछि उनले अरू महिलालाई सिकाइन्। उनले हस्तकलाको सीप मात्र सिकाइनन्, महिलालाई आत्मनिर्भर बन्न पनि प्रेरित गरिन्।
यसका लागि उनले बचतको परम्परा सुरु गरिन्। २५ जना महिलाबाट बचतको सुरुवात गरिन् । त्यसपछि महिलाहरू मिलेर ०५४ सालमा नवदुर्गा महिला बचत तथा ऋण सहकारी स्थापना गरिन् । महिलाहरू दिनभर घरको काम गर्ने र फुर्सदमा आयआर्जनका लागि घरेलु वस्तुबाट विभिन्न सामग्री बनाउन थाले। उनीहरूले उत्पादन गरेका वस्तु एकै ठाउँमा जम्मा गर्थे र पार्वतीले आफू तालिम लिएको काठमाडौंस्थित ‘बिन को–अपरेटिभ’ लाई बेच्थिन्। त्यसबाट हुने आय सहकारीमा जम्मा हुन्थ्यो।
विस्तारै महिलाहरू आत्मनिर्भरतातर्फ लम्किन थाले । २५ जनाबाट सुरु भएको बचत परम्पराले एक सय नौ जना महिलालाई जोड्यो र सहकारी स्थापना भयो। एउटा सहकारीबाट सुरु भएको यो अभियान अहिले जिल्लाभर फैलिएको छ। जिल्लामा यस्ता सहकारीको संख्या १९ पुगेको छ । यसबाट जिल्लाका करिब २० हजारभन्दा बढी महिला आत्मनिर्भर भएका छन्।
महिलाहरूको उत्पादन सामग्री किन्दै आएको बिन को–अपरेटिभले दश वर्षसम्म किन्यो। त्यसपछि किन्न छोड्यो। त्यसपछि पार्वतीले महिलाहरूको उत्पादन आफैं किन्न थालिन् र चितवनस्थित थारु संग्रहालयलाई बेच्न थालिन्।
‘पटेर र मुज बाहिरबाट ल्याउँथ्यौं । ढुवानी र खरिदमा पैसा लाग्थ्यो। मेहनत गरी सामग्री उत्पादन गर्थ्याैं ,’ पार्वतीले भनिन्, ‘उत्पादन गरेको वस्तु किन्न संस्था थियो । पुँजी पनि दिन्थ्यो। यति भएपछि आँट पलाउँथ्यो। पछि कच्चा सामग्रीमा प्रतिबन्ध लाग्न थाल्यो । सहजै उपलब्ध हुन छाड्यो। त्यसपछि विकल्प खोज्यौँ - आफैं उत्पादन गर्ने। अहिले कच्चा पदार्थ पनि हामी महिलाहरूले आफैं उत्पादन गर्दै आएका छौं,’ उनले भनिन्।
मेहनतअनुसार सामान बिक्री हुन थालेपछि महिलाहरू यस पेशामा थपिँदै गएका छन्। ‘आफू त बाँचेसम्म यही काम गर्ने निधो गरेकी छु । मेरो उद्योगमा मात्रै पाँच जना महिला काम गरिरहेका छन्,’ उनले सुनाइन्। जिल्लाभर सयौं महिलाले यस कामलाई व्यवसाय बनाएका छन्।
कमला र कोसीबाट पटेर तथा पहाडबाट मुज ल्याएर उनीहरू विभिन्न सामग्री बनाउने गर्थे। अहिले बाहिरबाट आउने कच्चा पदार्थसँगै स्थानीय उत्पादन पनि प्रयोग भइरहेको छ।
लक्ष्मीपुर पतारी, खरुकियाही, पडरिया, गोलबजारलगायतका करिब सयभन्दा बढी महिलाले यो सिप सिकेर अरू धेरैलाई जोडेका छन्। ‘धेरै महिलाले यही व्यवसायको कमाइले छोराछोरी पढाए। आयआर्जन गरेका छन्,’ उनले भनिन्, ‘अहिले उनीहरू आत्मनिर्भर बनेका छन्।’
पार्वतीले पनि यही व्यवसायको कमाइबाट छोरी ज्ञानु चौधरीलाई स्नातकोत्तरसम्म पढाइन् र विवाह गरिन् । छोरा सन्तोष चौधरीलाई कम्प्युटर इन्जिनियरिङ पढाइन्।
चितवन माइत भएकी उनी २०४० सालमा बिहे गरेर सिरहा आउँदा यहाँको गाउँघरको भाषा पनि बुझ्दिन थिइन्। त्यतिबेला गाउँघरमा छोरालाई पढाउने र छोरीलाई नपढाउने चलन थियो। तालिम दिने संस्थाले नेपाली भाषा बुझ्ने र अलिअलि पढेकी देखेर पार्वतीलाई तालिमका लागि छनोट गरेको उनले सुनाइन्।
रोचक कुरा के छ भने सुरुवातमा पार्वतीसँग जोडिएका २५ जना महिलाका सबै छोराछोरी स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिसकेका छन् । यो जागरुकता महिलाहरूको आत्मनिर्भरताले ल्याएको उनको बुझाइ छ। ‘छोरा पढाउने, छोरी बाख्रा चराउने’ ग्रामीण सोच नै थियो त्यो बेला। यही सोचले पार्वतीलाई सबैभन्दा बढी बिझाएको थियो।
महिलालाई आत्मनिर्भर नबनाई छोरीहरूको भविष्य सुरक्षित हुँदैन भन्ने बुझाइसाथ उनले यसलाई अभियानकै रूपमा सुरु गरिन् । २५ जना महिलाबाट सुरु भएको यो अभियानले उनीहरूको मात्र होइन, यस भेगका २० हजारभन्दा बढी महिलाको जीवन परिवर्तन गरिदिएको छ।
उनीसँगै अभियान चलाउने महिलाहरू अहिले हस्तकला र सहकारीको नेतृत्व गरिरहेका छन्। १९ वटै सहकारी महिलाकै नेतृत्वमा सञ्चालित छन्, जहाँ अध्यक्षदेखि सदस्य र कर्मचारीसम्म सबै महिला छन्। यसले महिलाहरू मात्र नभई परिवार र समाजमा आर्थिक, सामाजिक, वैचारिक, सांस्कृतिक तथा मौलिकता संरक्षणलाई समृद्ध बनाइरहेको छ।
पार्वतीको सपना यहाँको मौलिक हस्तकलालाई ब्रान्डिङ गरी विदेशसम्म पुर्याउने हो। अहिले पनि विभिन्न माध्यमबाट यहाँको हस्तकला विदेश पुगिरहेको छ, तर उनी आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न चाहन्छिन्।
थारु समुदायको विवाहमा ‘डलिया’ मा पाँच प्रकारका फल राखेर घरदेख (तिलक) गर्न जाने परम्परा छ । ‘डला’मा विवाहका विधिसामग्री राखी बेहुलाको परछन गरिन्छ। मैथिल ब्राह्मण समाजमा विवाहमा माइती पक्षले मौलिक हस्तकलाबाट बनेको सिन्दूरदानीमा सिन्दूर दिएर पठाउने चलन छ।
संस्कृतिले धनी मैथिली समाजमा यो हस्तकला सांस्कृतिक महत्त्व बोकेको छ भने बाहिर आकर्षक र मौलिक सौन्दर्य सामग्रीका रूपमा प्रयोग हुँदै आएको छ। यसकारण यसको महत्त्व र बजार दुवै व्यापक छ।
यो मौलिक हस्तकलामा सिप र रङको जादु भरिरहेकी छिन् पार्वती। उनी भन्छिन्, ‘म मरे पनि यो शिल्पकला बाँचे रहोस्। किनकि यसमा मैले आफ्नो जीवन समर्पित गरेकी छु। मेरो जीवनको अस्तित्व यही कलामा मिसिएको छ।’
पार्वतीले २०७५ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित उद्यमी मेलामा उत्कृष्ट महिला उद्यमी सम्मान प्राप्त गरिसकेकी छिन्।
प्रकाशित: २४ माघ २०८२ ०७:०८ शनिबार





