उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार सुधार र विकासका लागि कडा प्रयास गरिरहेको बताएका छन्। मकवानपुर, नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थिरताको आधारमा सरकार विकास र आर्थिक समृद्धि ल्याउन काम गरिरहेको दाबी गरेका हुन्।
उपप्रधानमन्त्री सिंहले पछिल्लो निर्वाचनपछि बनेको सत्ता गठबन्धन लामो समयसम्म टिक्न नसकेपछि जनतामा बढेको निराशा चिर्नका लागि वर्तमान गठबन्धन गठन भएको पनि स्पष्ट पारेका छन्। उनका अनुसार राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको हो। जसले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको छ।
सो अवसरमा मन्त्री सिंहले चन्द्रागिरी चित्लाङ सडकको निर्माण कार्य अवलोकन गर्दै उक्त सडक छिट्टै सम्पन्न गर्न पहल गर्ने पनि बताए। उनले भने, “यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बाग्मती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ।” सडक निर्माणमा ढिलाइ नगरी विकासका काममा सबै मिल्नुपर्नेमा उनको जोड छ।
कार्यक्रममा, सिंहले विकासका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण भए पनि संघ, प्रदेश र स्थानीय तहमा सबैको सहकार्य आवश्यक रहेको विचार राखेका छन्। उनले भने, “राम्रो काम गराउनका लागि के गर्नुपर्यो भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारीबोध गराउन सक्नुपर्छ। सबै मिल्नुपर्छ ।”
उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिईरहेको बताएका छन्। अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उहाँले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएको दोहोर्याएका छन्। तर,नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको उनको भनाई थियो।
प्रकाशित: ६ पुस २०८१ १३:४९ शनिबार