नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।
जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको जिकिर गरे। ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरू सबै कमीसनखोरीमा गाँजिएका छन्। अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन्। त्यसैले यी ठूलाठूला नेताहरू पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन्।'
सोही क्रममा भट्टराईले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरूले बनाएको उल्लेख गरे। 'यो देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना मोटामोटी बनाएका छौँ। त्यसको लागि चाहिने सुशासन हो। यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने। चाहे काँग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस्। चाहे मधेसवादी दलहरू भन्नुस् । यो त पटक पटक तपाईंहरूले देख्नुभएको छ। हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ।'
उनले आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको आरोप समेत लगाए। 'प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ। आफ्नो लुकाउँछ। पालैपालो सबैले सबैलाई भ्रष्टाचारी भनिरहेको छ। यसको अर्थ यि सबै भ्रष्टाचारी हुन्, यिनीहरू।'
भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताए। उनले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने जिकिर गरे।
भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको उनकले दाबी गरे। भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए।
संघीयताका अपूर्णतालाई कानूनहरू छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए। केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मोडलबाट जाने गरी आफूहरू अघि बढ्ने बताए।
प्रकाशित: ६ पुस २०८१ १२:१७ शनिबार