४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविको भनिएको ‘हिरासत तस्बिर’: कसको कस्ताे नियत ?

प्रहरीले थाल्यो अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सह कोषाध्यक्ष दीपक बोहराले बुधवार मध्य राति एउटा तस्बिरसहित कास्की प्रहरीको आलोचना गर्दै फेसबुक पोस्ट सार्वजनिक गरे । 

सिसिटिभी क्यामराबाट खिचिएको जस्तो देखिने तस्बिरमा एक जना व्यक्ति बेडमा सिरक ओढेर सुतिरहेका देखिन्छन् । टोपी लगाइएको टाउको मात्रै बाहिर छ । अनुहार प्रस्ट देखिन्न । बेडको छेउको टेबलमा असरल्ल किताबहरू छन् । 

रास्वपा सह कोषाध्यक्ष बोहराले त्यो तस्बिरमा सुतिरहेका व्यक्ति सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका सभापति रवि लामिछाने रहेको दाबी गरेका छन् । उक्त तस्बिर कास्की प्रहरीले बाहिर पठाएको भन्दै बोहराले चर्को आक्रोश पोखेका छन् । 

‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिन सट गरेको होला?,’ बोहराले लेखेका छन्, ‘अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।’

बोहराले यो फेसबुक स्ट्याटस पहिलो पटक बुधवार राति १०ः३७ मा पोस्ट गरेका छन् । लगत्तै त्यसको क्याप्सन दुई पटक सच्याएका छन् । आशय लगभग उस्तै छ । 

टेलिभिजन प्रस्तोता हुँदा देखिकै रविका मुख्य सहयोगी रहेका बोहराले यसरी प्रहरीलाई प्रश्न गर्दै तस्बिर ‘मोल लिएर बेचेको’ आशय झल्किने अभिव्यक्ति सार्वजनिक भएपछि त्यसयता सामाजिक सञ्जाल तातेको छ । विशेष गरी रास्वपा र रविका समर्थक प्रहरी, सरकार र सत्तारूढ दलमाथि विष वमन गरिरहेका छन् । स्वयं बोहराको स्ट्याटस एक हजार चार सय बढीले सेयर गरेका छन् भने झन्डै तीन हजार दुई सय भन्दा बढी कमेन्ट देखिन्छन् । 

यसरी एकाएक सामाजिक सञ्जालको साथ पाएपछि सह कोषाध्यक्ष बोहरा झन् हौसिएका देखिन्छन् । उनले बिहीबार बिहानै कास्की प्रहरी कार्यालय अगाडिबाट ३ मिनेट २० सेकेन्ड फेसबुक लाइभ बसेर फोटोबारे आफ्नो धारणा दिएका छन् ।  जसमा उनले प्रहरीले नै तस्बिर बाहिर पठाएको स्थापित गर्न जोड बल गरिरहेका सुनिन्छन् । 

लाइभमा बोहराले आफूले त्यो फोटो सामाजिक सञ्जालमा पाएर पोस्ट गरेको दाबी गरेका छन् । सँगै त्यो फोटो प्रहरीले नै बाहिर पठाएको दाबी गरेका छन् ।  ‘धेरै साथीहरू त्यो फोटो हो-होइन ? एआई जेनेरेटेड हो की ? भनेर भनिरहेका छन् । तर, त्यो फोटो त्यही नै हो । रवि दाइकै हो, हिरासतकै हो । सिसिटिभीबाट मात्रै खिचिएको हो । त्यसमा द्विविधा छैन,’ उनले भनेका छन्,‘आज हामीले प्रश्न गरेपछि, यो फोटो कसलाई पठाउन नेपाल प्रहरीले ? कोले हेर्न चाह्यो हिरासतमा रवि लामिछाने कसरी बसेका छन् भन्ने प्रश्न गरेपछि आज प्रहरीले कडाइ गरेको छ ।’ 

बोहराले त्यो फोटो बाहिरिँदा रवि हिरासतमा सुरक्षित छैन भन्ने देखिएको दाबी गरेका छन् । ‘रविलाईले म हिरासतमा सुरक्षित छैन भनेर पटक पटक भन्नुभयो । यसअघि चितवनबाट रातारात ल्याउँदा पनि म जाँदैन भन्दाभन्दै ल्याइएको थियो । त्यसमा गृहमन्त्री रमेश लेखकले होइन भन्नुभयो,’ उनले भनेका छन् । 

आफूसँग रविले ‘दीपक म क्यामरातिर बसेर लेख्न पनि सक्दिनँ । कसैले जुम गरेर हेरिदिन्छ जस्तो लाग्छ । फोटो मात्र होइन यिनीहरूले भिडिओ पनि पठाएका छन् कसैलाई’ भनेको बोहराले फेसबुक लाइभमा भनेका छन् । त्यो फोटोबारे प्रहरीको अनुसन्धानलाई विश्वास गर्न नसकिने भन्दै आफ्नो किसिमले पनि अनुसन्धान गर्न रविले भनेको बोहराले बताएका छन् । 

रास्वपा सह कोषाध्यक्ष बोहराले एकातिर त्यो तस्बिरलाई लिएर प्रहरीविरुद्ध भाष्य सिर्जना गर्न कोसिस गरिरहँदा रवि पक्राउको विरोधमा सहभागी भइरहेका डा. निकोलस भुसालले त्यो तस्बिर आफूले खिचेको दाबी गर्न थालेका छन्।

भुसालले नै केही दिन अघि सामाजिक सञ्जालमा उक्त तस्बिर सार्वजनिक गरेको खुलेको छ । अहिले भने उनले उक्त पोस्ट हटाइसकेका छन् । 

उक्त तस्बिर एकाएक भाइरल र विवादित बनेपछि भुसाल बिहीबार सामाजिक सञ्जालमा आएर खण्डनमा उत्रिएका छन् । ‘यो फोटो रियल हो । मैले नै खिचेको हो गल्ती भको हो माफी चाहन्छ,’  उनले लेखेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’ 

त्यसपछि लगत्तै फेसबुक लाइभमा आएर उनले शनिवार आफूले रविसँग भेटेको बताएका छन् । 

‘म सम्पूर्ण रास्वपाका साथीहरूलाई नकारात्मक नलिइदिन अनुरोध गर्दछु । म हिरासतमा जाँदा खास त मोबाइल छाडेर जानुपर्ने, मैले सिसिटिभी फुटेजबाट फोटो खिचेको हो,’ लाइभमार्फत उनले भनेका छन् । त्यहाँ पनि आफूले नखिच्नुपर्ने भन्दै उनले आत्मालोचना गरेका छन् । 

उक्त तस्बिर प्रहरीकै अगाडि खिचेको उनले बताएका छन् । उनले भने,  ‘शनिवार तीनचार बजे गएँ, भेटे । फर्किँदाखेरि प्रहरीहरू हेरिराख्नुभएको थियो । मैले त्यही बेला अनुमति मागेर खिचेको हुँ । गाह्रो नपर्ला भनेर खिचेको होइन । चितवनबाट ल्याउँदा जे जस्तो भए पनि यहाँ त राम्रैसँग राखेको छ भनेर खिचेको थिएँ।’ आफूले पैसा कमाउने नियतले नखिचेको उनले बताए । काम गरेर महिनाको लाखौँ कमाउने भएकाले यस्तो काम गर्न जरुरी नरहेको उनको दाबी छ । आफूले पुरानो पार्टीले भनेर पनि नखिचेको भुसालले दाबी गरे । 

‘मैले भाइरल हुन पनि यो गरेको होइन । अहिलेको यो देख्दा विरक्त लागिसक्यो । बरु अध्यात्म र स्वास्थ्यका काम ठिक लाग्छ,’ उनले भने । 

प्रहरीले थाल्यो अनुसन्धान

रवि भनिएको उक्त तस्बिर भाइरल भएसँगै जिल्ला प्रहरी कास्कीले त्यसको तथ्य जाँच गर्न थालेको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) श्यामबाबु ओलियाले तस्बिरको वास्तविकताबारे अनुसन्धान सुरु भइसकेको बताए । 

‘त्यो तस्बिर आएको छ । अर्कातिर मैले खिचेको हुँ भन्ने पनि देखिएका छन्,’ एसपी ओलियाले भने, ‘त्यसको वास्तविकता बुझ्न अनुसन्धान सुरु गरेका छौँ ।’ अनुसन्धानबाट खुलेपछि मात्रै त्यो तस्बिरको वास्तविकता बोल्न मिल्ने उनले बताए । 

प्रकाशित: ४ पुस २०८१ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App