नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि राजनीति दलहरूबीच आन्तरिक छलफल भइरहेको बताएका छन्।
उनले सबै राजनीति दल, नागरिक समाजसँग छलफल गरेर संविधान कार्यान्वयनमा देखिएका जटिलता संशोधनका माध्यममार्फत सम्बोधन गरिने बताए।
‘राजनीतिक स्थिरता, संघीयता कार्यान्वयन र आर्थिक समृद्धिका लागि प्रमुख दुई दलबीच सहकार्य गरेका हौं’, बुधबार सुर्खेतको भेरीगंगामा प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भने, ‘यो आगामी चुनावसम्म निरन्तर रहन्छ, गठबन्धन तलमाथि हुन्छ कि भन्ने शंका नराख्नुहोस्।’
सरकार सञ्चालन संयन्त्रका प्रमुखसमेत रहेका खड्काले साना राजनीति दलहरूलाई बोक्दा देशमा अस्थिरता पैदा भएकाले पनि प्रमुख दुई दलबीच सरकार सञ्चालनका लागि गठबन्धन बनेको बताए।
‘सरकार गठनका लागि संख्या पुर्याउन साना राजनीति दलहरूलाई बोक्दा देशमा राजनीति स्थिरता भएन, चाँडोचाँडो सरकार फेरिने अवस्था रह्यो’ उनले भने, ‘स्थिर सरकार निर्माण गर्दै संविधान संशोधन र देशको आर्थिक समृद्धिका लागि दुई ठूला दलहरू मिलेर गठबन्धन बनाएका हौं।’
उपसभापति खड्काले समयमै सङ्घीय ऐन/कानुन नबन्दा संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताउँदै वर्तमान सरकारले सङ्घीय कानुनहरू चाँडै निर्माण गरेर कार्यान्वयन गरिने बताए।
‘सङ्घीय कानुन बन्न नसक्नु सङ्घीयताको दोष होइन, हामी राजनीति दलहरूले ढिलासुस्तीले भएको हो’, उनले भने, ‘अब चाँडै सङ्घीय कानुन निर्माण गरेर सङ्घीयताको पूर्ण कार्यान्वयन गर्नेछौँ।’
उनले प्रादेशिक सरुवा रोग अस्पतालले सिङ्गो कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्याउने बताए। उनले विकास, उन्नति र प्रगति कुनै एक ठाउँका लागि नहुने बताउँदै यसले सिङ्गो जिल्ला, प्रदेश र देशलाई पनि टेवा पुर्याउने बताए।
कतिपय योजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीका कारण समयमै काम नहुने अवस्था रहेको बताउँदै उनले विकास/निर्माणमा छुटाइएको बजेटलाई समयमै सदुपयोग गर्ने वातावरण बनाइनुपर्ने बताए।
‘राजनीतिक कारणले, कार्यालयको कारणले अस्पताल निर्माणमा हुने ढिलाइलाई समयमै सचेत रहौं’, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भने, ‘अस्पतालका लागि आवश्यक बजेट छुटाइएको छ, समयमै सम्पन्न गर्नेतर्फ सबैले सहयोग गरौं।’
उनले प्रादेशिक सरुवा रोग अस्पताल सिङ्गो कर्णालीको केन्द्रमा बन्न सुरु भएको बताउँदै निर्माण सम्पन्न भएपछि सिङ्गो कर्णाली र छिमेकी प्रदेशका नागरिकहरूले सेवा पाउने बताए। ‘अस्पताल बन्दै गरेको केन्द्रबाट कर्णाली र भेरी करिडोर अघि बढ्छ, मदन भण्डारी राजमार्ग पनि नजिकै छ’, उनले भने, ‘रणनीति रूपमा महत्त्वपूर्ण स्थानमा अस्पताल निर्माण भइरहेको छ।’
खड्काले भेरी किनारका गुर्भाकोट, लेकवेशी र भेरीगंगालाई जोडेर आधुनिक सहरको मापदण्ड अनुसार गुरुयोजना निर्माणको काम भइरहेको बताए। ‘भेरी किनारमा आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य अनुसार भेरीगंगा उपत्यका आधुनिक सहर निर्माणका लागि गुरुयोजना निर्माण भइरहेको छ,’ उनले भने, ‘नदी किनारमा नेपालकै ठूलो आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिनेछ।’
सङ्घीय सहर विकास कार्यालयका प्रमुख कमलकुमार दर्लामीले ५० बेडको प्रादेशिक अस्पतालका लागि बजेट अभाव नभएकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
दर्लामीका अनुसार ३१ करोड १५ लाख ४६ हजारमा अस्पताल भवन निर्माणको चक्रेश्वरी कुलेश्वर सिएलजेभीले ठेक्का पाएको छ। ४.९ हेक्टर जमिनमा फैलिने अस्पताल भवन २०८३ साउन १२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ।
प्रकाशित: ३ पुस २०८१ १५:०९ बुधबार