३० मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

वर्षदिनमा पनि बनेन भूकम्पले भत्काएको भवन, खुला चौरमा कठ्यांग्रिँदै पढ्छन् विद्यार्थी

जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा

तस्बिर: भूकम्पले भत्काएको भवन। गोल्डेन बुढा/नागरिक

जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्रामा रहेको दुर्गा माध्यमिक विद्यालयको भवन भूकम्पले भत्किएपछि पुनर्निर्माण नहुँदा विद्यार्थीहरू खुल्ला चौरमै पढ्न बाध्य भएका छन्।

गत वर्षको कात्तिकमा गएको भूकम्पले विद्यालय भवन भत्काएपछि कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू चौरमा बसेर पठनपाठन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार भवनको अभावले विद्यार्थीहरूको पढाइप्रतिको ध्यान कम हुँदै गएको छ। जाडो मौसममा खुला चौरमा बसेर पढ्नुपर्दा विद्यार्थी कठ्यांग्रिँदै पढ्न बाध्य छन्। अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपानेका अनुसार भूकम्पले क्षति पुर्‍याएको विवरण विपद् प्राधिकरणमा पेस गरिएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। ‘विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीहरू खुला चौरमै पढ्न बाध्य छन्,’ उनले भने।

पुराना भवन जोखिमपूर्ण, नयाँ निर्माण अलपत्र

भूकम्पले चर्काएको भवन जस्ताले छाएको भए पनि बस्नलायक छैन। ‘सुरक्षित भवनबिना गुणस्तरीय शिक्षा सम्भव छैन,’ अध्यक्ष न्यौपानेले भने।

गत वर्ष सामाजिक विकास कार्यालयको सहयोगमा चारकोठे भवनको निर्माण थालिएको भए पनि अहिलेसम्म काम सम्पन्न नभएको विद्यालयले जनाएको छ। यसैगरी, सहरी विकास मन्त्रालयअन्तर्गत दुई कोठे भवनका लागि बजेट आइपुगेको भए पनि काम सुरु भएको छैन।

प्रधानाध्यापक शाहीले भत्किएको भवन पुनर्निर्माणका लागि आवश्यक कागजात पठाइसकेको बताए। ‘बजेट कहिले आइपुग्छ र काम सुरु हुन्छ भन्ने यकिन छैन,’ उनले भने।

कक्षा ६ मा अध्ययनरत पूर्णलक्ष्मी न्यौपानेले चौरमा पढ्दा ध्यान दिन गाह्रो हुने बताइन्। ‘बाहिर खेल्ने, हल्ला गर्ने सबै देखिन्छ, जसले पढाइमा समस्या हुन्छ,’ उनले भनिन्।

शिक्षक, अभिभावक र विद्यार्थीहरूले सुरक्षित भवन निर्माण गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न माग गरेका छन्। दुर्गा माध्यमिक विद्यालय लाम्रामा बाल विकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ।

प्रकाशित: ३० मंसिर २०८१ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App