११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको निष्कर्ष: प्रधानमन्त्रीको चीन भ्रमण सफल

सत्तारूढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सफलताको रूपमा लिँदै धन्यवाद ज्ञापन गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणका उपलब्धिहरूको समीक्षा गर्दै बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनामा भएको सम्झौताले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले नेपाल-चीन सम्बन्धमा सकारात्मक प्रभाव पारेको र पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य थप प्रगाढ बनाएको बताए।

बिआरआईमा भएको सम्झौताले दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण उपलब्धि दिलाएको भन्दै बैठकले यसलाई नेपालका लागि ठूलो सफलता मानेको छ।

ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमण, त्यसमा भएका सम्झौताहरू, र ती सम्झौताले नेपाल-चीन सम्बन्धमा पार्ने प्रभावहरूको समीक्षा गरेका छौँ। भ्रमण निकै सफल भएको निष्कर्ष निकालेका छौँ। सत्तामा रहेका प्रमुख दलहरूबीच बनेको समझदारीले बिआरआईलाई निस्कर्षमा पुर्‍याउन र भविष्यमा परराष्ट्र नीति सञ्चालनमा दिगोपन निर्माण गर्न सहयोग पुगेको छ।’

एमालेले दुवै देशले सम्झौताको शीघ्र कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, भ्रमणको सफलताले देशको परराष्ट्र सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरिएको छ।

बैठकले मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षासमेत गरेको छ। समग्रमा नेकपा एमालेले विगतको भन्दा धेरै सिट जिते पनि केही शहरी क्षेत्रमा अपेक्षित परिणाम नआएकोमा गम्भीरता व्यक्त गरिएको छ।

ज्ञवालीले भने, ‘कीर्तिपुर नगरपालिका लगायत केही शहरी वडाहरूमा अपेक्षा गरिएका नतिजा प्राप्त नभएको र आगामी दिनमा शहरी जनमतलाई थप मजबुत बनाउँदै लैजानुपर्ने निस्कर्ष निकालेका छौँ।’

बैठकले सामाजिक सञ्जालको दुरुपयोग गर्दै गलत सूचना फैलाउने प्रवृत्तिलाई पनि गम्भीरतापूर्वक लिएको छ। सामाजिक सञ्जालमार्फत निराशा र भ्रम फैलाउने कार्यलाई राजनीतिक स्वार्थका निम्ति प्रयोग गर्नु आपत्तिजनक रहेको एमालेको ठहर छ।

प्रकाशित: २५ मंसिर २०८१ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App