२९ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

उपनिर्वाचनको नतिजाबाट उत्साहित माओवादीले भन्यो- पार्टीले अघि सारेका एजेन्डा अनुमोदन भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपनिर्वाचनपछि पार्टीका एजेन्डा जनताबाट अनुमोदन भएको बताएको छ ।

मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा ११ पद जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।'

अगाडि उनले भनेका छन्, 'हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षको नयाँ सङ्कल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ ।'

उनले उपनिर्वाचन निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमत दुबै हिसाबबाट उत्साहजनक रहेको बताएका छन् । 'विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,' अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एक उपमेयर र दुई उपाध्यक्षसहित ७ वटा वडा जितेको छ ।

प्रकाशित: १८ मंसिर २०८१ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App