१ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

त्रियुगाको नगरसभा: प्रज्ञा प्रतिष्ठान विधेयक पारित, बजेट शीर्षक संशोधन

नगरसभामा नगरप्रमुख बस्नेत, उपमेयर राई, र प्रमुख प्रशासकीय अधिकृत सिग्देल। तस्बिरः महेश्वर/नागरिक

त्रियुगा नगरपालिकाको १४ औँ नगरसभाले ‘त्रियुगा नगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक ०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ।

सदरमुकाम गाईघाटस्थित नगरसभाकक्षमा आयोजित सभामा नगरप्रमुख बसन्त बस्नेतले उक्त विधेयक प्रस्तुत गरेका थिए।

नगरसभाले नगरपालिकाले आवश्यक ठानेका नीति, नियम, र कानुन पारित गर्नुका साथै ७५ शीर्षकको बजेट संशोधन गरेको छ। विशेषत: साना तर अत्यावश्यक योजनाहरूका लागि विनियोजित २ दर्जन शीर्षकको बजेटलाई ६ दर्जनभन्दा बढी शीर्षकमा विस्तार गरी पुन: संरचना गरिएको हो।

नगरप्रमुख बस्नेतका अनुसार, विश्व बैंकको लगानीमा निर्माणाधीन गाईघाट बजारका सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्ने ६५ करोड रुपैयाँको बजेटसहित १ अर्ब ९२ करोड ८१ लाख ५७ हजारको प्रक्षेपित बजेटलाई भने यथावत् राखिएको छ। प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले शीर्षकगत बजेटमा आवश्यकताअनुसार तलमाथि गरिएको जानकारी दिए।

सभामा सदस्यहरूले नगरपालिकाका विभिन्न योजनाबारे धारणा राख्दै सुझाव प्रस्तुत गरे। सदस्य भीमचन्द्र राईले विश्व बैंकको लगानीमा भइरहेका सडक स्तरोन्नतिको काम विवादका कारण रोकिएको विषय प्रस्ट पार्न माग गरे।

सदस्य प्रवेश खड्काले दक्षिणी भेगका नगरवासीका लागि नगर अस्पतालको स्थापना प्रशंसनीय रहेको उल्लेख गर्दै औद्योगिक ग्राम निर्माणमा शीघ्रता अपनाउन आग्रह गरे।

सदस्य अर्जुन पोखरेलले कृषिका क्षेत्रमा गरिएको लगानी प्रभावकारी नभएको बताउँदै कृषिमैत्री कार्यक्रम लागू गर्न सुझाव दिए।

सदस्य कुलबहादुर मगरले भूमिहीन र सुकुम्बासीका लागि गरिएको तयारीलाई कार्यान्वयनमा ल्याउन नगरपालिकाले तत्काल कदम चाल्नुपर्ने बताए।

सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै नगरप्रमुख बस्नेतले प्रस्तावहरू कर्तल ध्वनिबाट पारित गराएका थिए। अन्त्यमा, उपमेयर सूर्य राईले सहभागी सबै सभासदहरूलाई धन्यवाद दिँदै नगरसभाको समापन घोषणा गरे।

प्रकाशित: २९ पुस २०८१ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App