६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘इमान्दार भएर विकासका काम गर्छु, गलत काम गदिनँ’

सभामुखको दुई वर्ष:

<br>

सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन्।

मंगलबार झापा क्षेत्र नम्बर-२ का आधा दर्जन विकास आयोजना निरीक्षणका क्रममा उनले मुलुकको शिथिल अर्थतन्त्रका कारण विकासमा सोझो असर परेको बताए।

‘तुलनात्मक रूपमा झापा क्षेत्र नम्बर-२ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ सभामुख घिमिरेले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर रहनेछ। इमान्दार भएर विकासका लागि काम गर्छु, गलत काम गदिनँ।’

सभामुखको रूपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने भए पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने उनको भनाइ थियो। उनले भने, ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो। तर, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ। तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै पहल गर्ने अवसर पनि मिलेको छ।’

सभामुख घिमिरे चारवटा कार्यक्रम बनाएर आइतबार बिर्तामोड आएका थिए। पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर साँझ पुनः झापा फर्केका थिए।

आइतबार झापा आउनासाथ बिर्तामोड र कनकाई क्षेत्रको अवलोकन गरेका घिमिरेले सोमबार सुपारी प्रशोधन केन्द्रको निरीक्षण गरे। मंगलबार बिहानदेखि राति अबेरसम्म उनले प्रदेशसभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजना अधिकारीहरूसँग विभिन्न विकास आयोजनाको अवलोकन र अन्तर्क्रिया गरे।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीदेखि सालबाडी हुँदै कालिकास्थान जोड्ने ९ दशमलव २ किमि लामो सडकको स्थलगत अवलोकन गरे। कालोपत्रे रोकिएको यो सडकको निर्माण प्रक्रिया अघि बढाउन स्थानीय र सम्बद्ध पक्षसँग छलफल गर्दै उनले आगामी असारसम्म निर्माण सम्पन्न हुने जानकारी पाएको सुनाए।

मदन भण्डारी राजमार्गको शनिश्चरेदेखि मेचीनगर हुँदै इलामसम्मको क्षेत्र निरीक्षण गर्दै उनले निर्माण सुस्ततामा चिन्ता व्यक्त गरे। बजेट अभाव नभए पनि प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने प्रतिबद्धता जनाए।

सभामुखले हात्ती आतंक कम गर्न सुरु गरिएको इलेक्ट्रिक फेन्सिङको प्रगतिबारे जानकारी लिँदै थप विस्तारका लागि पहल गर्ने बताए। अर्जुनधारा-८ स्थित टोपी चौकलगायतका सडकहरूको निरीक्षणमा उनले स्थानीयसँग अन्तर्क्रिया गरेका थिए।

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ।

प्रकाशित: ४ मंसिर २०८१ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App