७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार

मानव सेवा आश्रमले चाडपर्व लक्षित सडक मानव उद्धार अभियान ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सोमबारबाट औपचारिक रूपमा सम्पन्न गरेको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी  यो अभियान सम्पन्न गरिएको हो । 

समापन समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले १२ वर्षसम्म निस्वार्थ सडक मानव मुक्त अभियान चलाएका मानव सेवा आश्रमका १०१ अभियन्तालाई सरकारले जीवन यापन सुविधा दिनुपर्ने । यसमा संघीय सरकारको ध्यान पुग्नुपर्ने उनले बताएका हुन् । 

आगामी वर्ष ०८२ मा मुलुकलाई सडक मानव मुक्त राष्ट्र बनाउने हो भने मुलुकका ६ हजार ७४३ वडाले सडक मानव खोज्न आश्रमलाई सघाउनुपर्ने मुख्यमन्त्री लामाले धारणा व्यक्त गरे । सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै उनले आश्रमको प्रशंसा गरे । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आश्रममा आश्रित एक हजार ८९० सडक मानवहरूको मानसिक अवस्था सबल नरहेकाले उनीहरूको स्वास्थ्य स्याहार र हेरचाह गर्नु सामान्य काम नभएको बताइन् । 

समारोहमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आश्रमले गरिरहेको सडक मानव उद्धार कार्य प्रशंसनीय रहेको बताए। उनले भने, ‘मानव सेवाका अभियानकर्ताहरूले रातदिन सेवा गर्नु अकल्पनीय र असाधारण कार्य हो। एक पैसा पनि विदेशीको सहयोग नलिई कन सेवा गर्नु यो आफैमा पुण्य काम हो।’ 

एउटा संस्थाले सडक मानव मुक्त कार्यक्रम घोषणा गर्न सक्छ भने सरकारले किन नसक्ने? भनी उनले प्रश्न गरे । 

त्यस्तै आश्रमका सद्भावना दूत मह जोडीको तर्फबाट कलाकार हरिवंश आचार्यले आफ्नो एउटै मात्र मन्दिर भएको र त्यो मानव सेवा आश्रम भएको बताए। कलाकार आचार्यले सातै प्रदेशका सरकारले मानव सेवा आश्रमलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

समारोहमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मानव सेवा आश्रमको साथमा महानगरको साथ रहेको बताइन्। उनले सडक मानवमुक्त बनाउन ८ करोडको बजेट कामनपाले छुटाएको पनि बताइन्।

समापन समारोहमा आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार अवधिका प्रगति विवरण प्रस्तुत गरे। अध्यक्ष अधिकारीले ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा ३८ दिनको उद्धार अवधिमा २३६ जना उद्धार गरिएको बताए। उद्धार गरिएकामा १७९ जना पुरुष र ५७ महिलामध्ये  ५ जना बालिका र ४ जना बालक रहेका छन्।

प्रकाशित: ४ मंसिर २०८१ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App