२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यति बेला भने गुलजार छ । दसैँ–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ । 

केही वर्ष अघिसम्म त दसैँ तिहार नलाग्दै रौनक यसै गरी पहाड पस्थ्यो । सहरतर्फ पढाई लेखाइ र रोजगारीका लागि अस्थायी बसाइँ सरेका युवाहरू चाडपर्वमा उल्लास लिएर गाउँ फिर्थे । अहिले समय उल्टिएको छ, स्थायी रूपमै बसाइसरेका सन्तानसँग चाडपर्व मनाउन वृद्ध आमा बाहरू सहर पस्छन् । विदेशमा पुगेका कतिपय युवाले आफ्ना आमाबुबालाई चाडपर्व मनाउन उतै डाँक्न थालेका छन् । 

यसरी समय फेरिएपछि सुदूर पहाडले उत्सव खोज्न ‘देउपर्व’ पर्खनुपर्छ । यो समयमा सुदूरपश्चिमेलीका थरिथरि समाजले आ–आफ्ना इस्ट कुल देवताको पूजा आराधना गर्छन् । पूजा आराधनाका क्रममा विभिन्न ठाउँ तथा गाउँ टोलमा ठुलठुला जाँत(जात्रा)मेला लाग्ने गर्दछन् । 

चाडबाड घरपरिवारसँग अन्यत्र जहाँ बसेर मनाए नि कुल देवताको पूजामा सरिक हुन् भने थातथलोमै फर्कनुपर्छ । देवताका भराँण(भण्डार घर)देखि माडु(मन्दिर)सम्म प्राचीन थलोमै हुन्छन् । त्यसमा पनि कुल देवताको पूजा एक जना व्यक्तिले भन्दा पनि समाजले सामूहिक रूपमा गर्ने उत्सव हो । 

यसर्थ यस्ता ग्राम देवताका पूजामा करिया(पूजामा विभिन्न काम गर्नेहरू) त पुग्नुपर्छ नै अन्य त्यो देवतालाई पुस्त पुस्तादेखि श्रद्धा वा आस्था राखेर कुल देवता  मानेकाहरू पनि त्यही आस्था बोकेर पुग्ने गर्छन् । यसरी एकैसाथ मानिसको भिड र जात्रा मेला लाग्दा पहाडी समाज गुलजार हुन पुग्छ । 

यो भिडमा कैयौँ व्यक्ति हुन्छन्, जो वर्षौँसम्म यो कर्ममा सहभागी हुन नसकेका हुन्छन् । सक्रिय जीवनकालको दैनन्दिन सङ्घर्षका दौरान युगाैँयुगको पुर्ख्यौली सिलसिलामा सहभागी हुन नभ्याएकाहरू बुढेसकालमा भएपनि एकपटक पुग्छन्; देवताको पूजामा सहभागीसँगै आफ्ना बाल्यकालका स्मृति केलाउँछन् र पुर्खालाई सम्झन्छन् ।

यस्ता तमाम वृद्ध वृद्धाहरू सुदूर पहाडका बस्ती बस्तीमा छन् । जो जीवनका बाँकी दिनका लागि पुराना स्मृतिहरू कोट्याउँदै पुर्खाको क्रमिक सिलसिलामा ढिलै भए पनि जोडिन आइपुगेका छन् । 

यस पटक तीनै वृद्धमध्येका एक बनेका छन्, पाँच पटक देशको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 

उमेरले ८० वर्ष पुग्न लागेका देउवा यस पटक देउपर्वकै बेला गृह जिल्ला डडेलधुरा गए । जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवा खोला पुगे । २३ वर्षपछि आफ्ना कुल देवताको मेलामा सरिक भए । देशको सबैभन्दा ठुलो राजनीतिक दलका सभापति रहेका देउवा फुर्सदिलाझैँ बनेर झन्डै एक साता डडेलधुरामा बिताए ।  

जन्म गाउँ रुवा खोलामा देउवा

देउवाको यो डडेलधुरा भ्रमणलाई बाहिरबाट हेर्दा धेरैले राजनीतिक रूपमा बुझेका छन् । तर परिवार र नजिकबाट बुझ्नेहरू भने व्यक्तिगत एवं धार्मिक भ्रमणभन्दा बढी नरहेको बताउँछन् । 

‘कुल देवताको मेलामा सहभागी हुन नपाएको धेरै वर्ष भइसकेको थियो । मेला हुने बेला जहाँ भए पनि उहाँ सम्झिराख्नुहुन्थ्यो,’ स्वकीय सचिव समेत रहेका देउवाका भतिजा भानु देउवा भन्छन्,‘घरायसी गफगाफमा यसपालि जसरी नि जान्छु भनिराख्नुभएको थियो । मौका पनि मिल्यो ।’ 

भानु देउवा

 

देउवाको गृह पालिका गन्यापधुराका गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार देउवा २३ वर्षपछि कुल देवताको मेलामा पुगेका हुन् । देउवा यसअघि २०५८ सालमा कुल देवताको मेलामा सहभागी हुन रुवा खोला पुगेका थिए । ‘उहाँका कुल देवता असीम हुन् । यस्तै लाटा गन्यापका पनि देउवाहरू हकदार हुनुहुन्छ,’ अध्यक्ष कार्कीले भने । 

गणेशपुरमा लाग्ने ‘लाटा गन्याप’ देवताको मेला ‘बडाल जाँत’को नामले प्रसिद्ध छ । जहाँ ३०–४० हजारले मेला भर्छन् । ‘यो मेलामा चौलो(देवताको मेलामा तरबार नचाएर खेल्ने खेल) मुख्य गरी देउवाहरूले नै खेल्छन्। स्वास्थ्यले साथ नदिएर होला उहाँले खेल्नुभएन । तरबार त समात्नुभयो, युवाहरूले खेलेको हेर्नुभयो,’ कार्कीले अगाडि भने । चुनाव र राजनीतिक काममा भने देउवा पटक–पटक गाउँ पुगेको उनी बताउँछन् । 

देउवाका सात दिन

सभापति देउवा गृह जिल्ला डडेलधुरा जान कात्तिक २५ गते बिहान काठमाडौंबाट हवाई मार्गबाट धनगढी उत्रिएका थिए। धनगढी विमानस्थलमा कार्यकर्ता र शुभेच्छुक भिड थियो । उनले सबैलाई भरपुर समय दिए । 

भेटघाट सकिएपछि केही समय बिताएपछि डडेलधुराका लागि हिँडे । बाटोमा कैलालीको खानी डाँडा र चुरे गाउँपालिकामा कार्यकर्तासँग भेटघाट गर्दै राति डडेलधुराको सिमानामा पर्ने डोटीको बुडरमा बास बसे । 

त्यहाँबाट दोस्रो दिन बिहानै डडेलधुराको दक्षिणी क्षेत्रको आलिताल गाउँपालिकाको आलिताल हेरे, परशुराम नगरपालिकाको नेपाल–भारत सिमानामा पर्ने प्रसिद्ध धार्मिकस्थल परशुराम धामको दर्शन गरे । त्यहाँ वर र पिपल रोपे । भ्रमणमा भेट्न आएका स्थानीयबासीलाई पनि मनग्य समय दिए । 

त्यहाँबाट डडेलधुराको सदरमुकाम लागे । सदरमुकाममा रहेका एक रिसोर्टमा बास बसे । जहाँ उनले मंसिर १ गतेसम्मका ६ रात बिताए । रात त्यहाँ बिताए पनि देउवा बिहानैदेखि अबेर साँझसम्म भने गाउँ गाउँ डुले । २७ गते बडाल जाँत पुगे । भने २९ गते असीम जाँतका लागि रुवा खोला गए । 

बाँकी दिनमा जिल्लाका सबैजसो स्थानीय तहका केन्द्र पुगे । भ्याएसम्म अन्य आसपासका गाउँ बस्ती पनि पसे । त्यस क्रममा भेटिने सबैसँग गफिए, पुराना कुरा सम्झिए, नयाँ फरक केलाए । 

३० गते पत्नी डा. आरजु राणा देउवा(परराष्ट्रमन्त्री)लाई बोलाए । मंसिर १(शनिवार)गते डडेलधुराको प्रसिद्ध उग्रतारा मेलामा लाग्ने ‘देहिजाँत’मा सपरिवार विशेष पूजा गरेर धनगढी झरे ।

उग्रतारा मेलामा देउवा दम्पत्ति

आइतबार कैलालीमा केही राजनीतिक भेटघाटमा सरिक भए । ती भ्याएर धनगढीको बेहडाबाबाको दर्शन गर्ने इच्छा जाहेर गरे । त्यहाँ दर्शन गरेपछि गेटा मेडिकल कलेज निरीक्षण गरी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्किएका छन् । 

संवेदनासँग जोडिएको भ्रमण 

देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन् । उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यस पटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ । 

देउवा डडेलधुरा भ्रमणका क्रममा आफ्नो पूर्ववत् स्वभाव भन्दा फरक शैलीमा प्रस्तुत भएको नजिकबाट हेरेकाहरूको बुझाई छ ।  ‘उहाँ हाटहुटे शैलीको मान्छे हो । जहिले हतारमा देखिने, केही कुरा गरे पछिपछि भन्ने खालको,’ डडेलधुराका पुराना पत्रकार डिआर पन्त भन्छन्, ‘यस पटक कुनै हतारो देखिएन । न कहिँकतै झर्किने, रिसाउने देखिनुभयो । सकेसम्म भ्याएको ठाउँ पुग्नुभयो । जसलाई भेटे पनि मजाले कुराकानी गर्नुभयो । आफ्नो वा पराई भन्नुभएन ।’ 

पत्रकार डिआर पन्त

पत्रकार पन्त देउवाको यो भ्रमणलाई एक वृद्ध नेताको भावुक भ्रमणका रूपमा अर्थ्याउँछन् । उनी भन्छन्,  ‘उहाँ उमेर र राजनीतिक हिसाबले उत्तरार्धतिर हुनुहुन्छ,  फेरी आउन सकिएला–नसकिएला । यो ठाउँ र यहाँका देवताले मलाई यती दिए, मैले के गरे ? भन्ने स्वमूल्याङ्कन गर्न पनि अहिले आउनुभएको होला ।’ पन्तका अनुसार देउवाले व्यवहारमै त्यसो देखाएका पनि छन् । उनी सकेसम्म सबै सडक पुगे, पूर्वाधार निर्माण भएका र भइरहेका ठाउँ पनि गए ।

डडेलधुरामा देउवाको लगातार जितमा जनता मात्र नभई देवताका कारण पनि भूमिका रहेको पत्रकार पन्त बताउँछन् । ‘उसै पनि उहाँ आस्तिक नै हो । त्यसमा पनि रुवा खोलाको देउवाहरू सङ्कट पर्दा बडाल जाँत पुग्छन् । बडाल जाँतबाटै सबै करियालाई सन्देश पुग्छ । २०६४को संविधानसभामा बडाल जाँतबाटै देउवा जितेका हुन्,’ उनले सुनाए । बडाल जाँतको सन्देशले त्यसका आस्तिक एक ढिक्का हुँदा देउवा माओवादीका खगराज भट्टसँग थोरै मतान्तरले जितेको पन्तको बुझाई छ । 

डडेलधुरा नै घर भएका कांग्रेस केन्द्रीय सदस्य नैनसिँह महरले पनि यस पटकको डडेलधुरा भ्रमणमा देउवाको स्वभाव फरक पाएका छन् । ‘धेरै फरक प्रस्तुत हुनुभएको छ । खुसी, ऊर्जासँगै भावुकता पनि छ । साह्रै सहज पनि देखिनुभयो,’ उनी भन्छन्,‘सात पटक जिताएका मतदाता र आफ्नो भूगोलमा पुग्दाको स्नेह होला । आफ्ना पुराना स्मृतिका दिनको पुनरावृत्ति भएर पनि होला ।’ 

कांग्रेस केन्द्रीय सदस्य नैनसिँह महर

भावनात्मक कुराले नै देउवालाई डडेलधुरा डोर्‍याएको नेता महरको बुझाई छ । ‘उहाँका लागि यो भन्दा फुर्सदिलो समय अरू नहोला, न उहाँ इमरजेन्सी राजकीय भूमिकामा हुनुहुन्छ । न राष्ट्रिय राजनीति नै त्यति अस्थिर छ । त्यसैले भावनामा रहेको, कहीँ छुटिरहेको जीवनको क्षण बिताउन आउनुभयो,’ महरले भने । 

राजनीतिक शंका

देउवाको यो डडेलधुरा भ्रमणलाई विपक्षीहरूले अनेक अड्कलबाजी पनि गरिरहेका छन् । धार्मिक आवरणमा राजनीतिक उद्देश्यका लागि भ्रमण भन्नेहरू पनि छन् । 

पुराना राजनीतिक दलप्रति वितृष्णा बढिरहेका बेला देउवा फेरी चुनाव लड्ने-नलड्ने, जित्न सकिन्छ-सकिन्न भन्नेबारे अवस्थाको जायजा (सर्भे) लिन गएको भन्नेहरू पनि छन् । कतिपयले पत्नी आरजुका लागि २०८४ को चुनावी वातावरण बनाउन गएको भन्ने पनि लख काटिरहेका छन् । 

तर पत्रकार पन्त भने देउवाको यो भ्रमण यी प्रश्न र आशंका भन्दा माथि रहेको बताउँछन् । ‘यसमा के शंका गर्नु ? देउवा लडेसम्म हार्दैनन् । तर लड्ने नलड्ने भनेका छैनन् । कसलाई लडाउने पनि भनेका छैनन् । मलाई त यी सबै कुराका लागि आउनुभयो भन्ने लाग्दैन । एक वयोवृद्ध राजनीतिज्ञलाई आफ्नै मनमा हुर्किएको मानवीय संवेदनाले डोर्‍याएको जस्तो लाग्छ,’ पन्त भन्छन् । 

यहीबिचमा डडेलधुरामा पत्रकारले सोधेको प्रश्न पनि देउवाले हाँसेरै उडाएका छन् । ‘०८४ मा फेरी चुनाव लड्नुहुन्छ कि हुन्न ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले हाँसेर जवाफ फर्काए,  ‘तपाईँ भन्नुस्, तपाईँ भोट दिने कि नदिने ? दिने भए लड्छु ।’ 

भिडिओमा देखिएको पत्रकार सम्मेलनमा देउवाले हाँसी हाँसी खुलेर जवाफ दिएको देखिन्छ । जुन उनको नियमित स्वभावभन्दा निकै पृथक् हो ।  

प्रकाशित: २ मंसिर २०८१ २०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App