१ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

आहा! रेडपान्डा

घुमफिर

नयाँ जीवजन्तु, पशुपक्षीको तस्बिर खिच्न भौंतारिँदै गर्दा केही दिनअगाडि लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु पुग्यौं। गत वर्ष अघिदेखि नै रेडपान्डा अर्थात् हाब्रेको तस्बिर खिच्न धेरै नै रहर लागेको थियो। तर साइत बल्ल जुर्‍यो। जुरे पनि गएर खिच्न सकिन्छ नै भन्ने छैन किनभने जंगली जीवजन्तु हो, सधैं एकै ठाउँमा बस्दैन। भेट्न पनि सकिन्छ, नभेट्न पनि सकिन्छ।

अघिल्लो बुधबार अर्थात् २०८१ कात्तिक २० गते साँझ वाइल्ड लाइफ फोटोग्राफर सुदीप केसीले ‘भाइ, भोलि मेरो गाडीमा रेडपान्डाको फोटो खिच्न जाने हो ? दुई दिन समय मिलाऊ। सँगै जाऊँ। सके पान्डा खिचौंला, नभए घुमेर आइन्छ’ भने। मैले सहमति जनाएँ।

अनि भोलिपल्ट अर्थात् बिहीबार बिहान हामी जाँदा अर्को साथी वाइल्ड लाइफ फोटोग्राफर गंगाराज सुनुवारसहित तीन जना काठमाडौंको साँखु हुँदै जर्सिङ पौवाको बाटो हुइँकियौं। त्यहाँबाट मेलम्चीको बाटो हुँदै करिब पाँच घण्टामा सिन्धुपाल्चोकको हेलम्बुस्थित २४ सय मिटरको उचाइमा रहेको कुटुमसाङ पुगियो।  

कुटुमसाङमा लाङटाङ राष्ट्रिय निकुञ्जको टिकट काटेर चेक जाँच गरी हामी उकालो लाग्यौं। जानुपर्ने थियो ३३ सय मिटर उचाइमा रहेको कालु शेर्पाको होटल ग्रिनभ्यु। म कहिल्यै त्यति लामो उचाइको टे«किङमा गएको थिइनँ। हामी बिस्तारै बिस्तारै आराम गर्दै, डाँडापाखा हेर्दै, फोटो खिच्दै करिब तीन घण्टामा मङ्निगोठस्थित होटल पुग्यौं। मौसम साह्रै चिसो थियो। हिँडाइले पसिना पनि आएको थियो। चियापानी पिएर केही बेर आराम गरी हामी ३५ सय मिटरमा रहेको तीन सय ६० डिग्री भ्यु प्वाइन्ट पाकीडाँडामा सूर्यास्त हेर्न गयौं।

सूर्यास्त हेरेर फर्किंदा झमक्क साँझ परेको थियो। होटलमा आउँदा हाम्रा काठमाडौंका तीन जना वाइल्ड लाइफ फोटोग्राफर साथीहरू विनय, विकास र सागर तीन दिनदेखि रेडपान्डाको फोटो खिच्न भनेर त्यहीं बसेका रहेछन्।

हामीलाई उनीहरू आएको थाहा नै थिएन किनभने कहिलेकाहीं हामी साथीहरू एकदुई जना आफू आफू सल्लाह गरेर हल्ला नगरी हिँड्ने चलन पनि छ। उनीहरूले जंगलमा दुई दिनदेखि पान्डा खोजी गरेको तर नभेटेको कुरा गरे। मलाई मनमनै पान्डा भेटिन्न कि क्या हो जस्तो लाग्यो। तर एक मनले भेटिएला नि जस्तो लाग्यो। हामी भोलि बिहानैै पान्डा खोज्न जंगल जाने सल्लाह भयो।

भोलिपल्ट हामी नास्ता खाएर ७ः३० बजेतिर मिसन रेडपान्डामा जान तयार भयौं। पान्डा खोज्न सहयोगका लागि होटल सञ्चालक कालु शेर्पाले मङ्निगोठका प्रख्यात गोठाला भक्तललाई बोलाएका रहेछन्। उनी हामीसँगै जाने भएपछि पक्कै पान्डा भेटिन्छ भन्ने हामी सबैलाई आशा लाग्यो। किनभने पहिला पहिला पनि अरू केही साथी र विदेशी आउँदा भक्तल नै जंगल गएर खोजी गर्दै देखाउँथे रे।

कालु शेर्पा, भक्तल र हामी ६ जना गरी आठ जना दुई गु्रप बनाएर जंगलमा पान्डा खोज्न लाग्यौं। म, सुदीप दाइ, गंगाराज, विनय र भक्तल एक गु्रप, कालु शेर्पा, विकास र सागर अर्को ग्रुप गरेर खोज्न थाल्यौं। बिचबिचमा जंगलमा हाम्रो भेट भइरहन्थ्यो तर चार घण्टा खोज्दा पनि पान्डा चाहिँ भेटिएन, पान्डाको बिस्टा मात्र भेटियो।

हामी अभैm छरिएर पान्डा खोज्न थाल्यौं। करिब दुई घण्टापछि भक्तलले होब्राक्पा भेटियो भनेर सङ्केत गरे (रेडपान्डालाई शेर्पा भाषामा होब्राक्पा भनिन्छ)। हामी पान्डा भएको ठाउँतिर लम्क्यौं। त्यहाँ विकासलगायत साथीहरूले पान्डाको फोटो खिच्दै रहेछन्। हामी पनि पान्डालाई देखेर हर्षित भयौं र फोटो–भिडियो खिच्नतिर लाग्यौं।

पान्डा रुखको हाँगामा आराम गरिरहेको थियो। लजालु स्वभावको पान्डा कहिले हामीलाई हेरेर आँखा चिम्लने त कहिले आँखा खोल्ने गथ्र्यो। त्यसो त पान्डा पहिला पनि देखेकै हो तर चिडियाखानामा भन्दा प्राकृतिक वासस्थानमा हेर्नुको मज्जा नै बेग्लै।

चिडियाखानामा भन्दा प्राकृतिक वासस्थानमा हेर्नुको मज्जा नै बेग्लै केही समय फोटो खिचेर हामी होटलतर्फ लाग्यौं र क्यामेरामा कस्तो फोटो आयो भनेर हेर्न थाल्यौं। भोलिपल्ट कालु शेर्पाले हामीलाई खादा ओढाएर बिदाइ गरे। हामी रेडपान्डाको रमाइलो अनुभव लिएर राजधानी फर्कियौं।

प्रकाशित: १ मंसिर २०८१ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App